काठमाडौं, ३१ असार । मधेस प्रदेशसभाबाट विपक्षी दलको बहिष्कारकाबीच बजेट पारित भएपछि दलहरुका बीचमा बिवाद बढेको छ । प्राप्त समाचारअनुसार मधेस प्रदेश सरकारको बजेट विपक्षी दलको बहिष्कारबीच पारित भएको छ । आजको प्रदेससभा बैठकमा विपक्षी दलको अनुपस्थितिका बीच सत्ता दलहरुको बहुमतले बजेट पारित गरिएको हो । सभामुख रामचन्द्र मण्डलले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो । विपक्षी दलका प्रदेशसभा सदस्यले सांसदलाई उपलब्ध गराइएको र अर्थ मन्त्रालयले कार्यदललाई उपलब्ध गराएको रेडबुकमा २९४ पाना फरक परेको भन्दै विरोध जनाएका छन् । सरकारले आर्थिक अपराध गरेको भन्दै विपक्षी दलहरुले हिजो बिहान कार्यदल बैठक र पछि प्रदेशसभा बैठकसमेत बहिष्कार गरेका थिए । त्यसपछि सत्ता पक्षीय दलका सदस्यहरुको उपस्थितिमामात्रै बैठक अगाडि बढेको थियो ।

विपक्षी दलले अर्थमन्त्रीको राजीनामा र त्यसपछि बन्ने अर्थमन्त्रीले ल्याएको बजेट मात्र स्वीकारगर्ने अडान राखेका थिए । गत एकगते अर्थमन्त्री सुनिल यादवले आगामी आब ०८२÷८३ का लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो । पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभा बैठकमा पेश गरिएको र अर्थ मन्त्रालयसँग रहेको बजेट फरक परेकाले अर्थमन्त्रीको राजीनामाको मागगर्दै आफूहरुले बैठक बहिष्कार गरेको बताउनुभएको छ । सत्ता पक्षका केही प्रदेशसभा सदस्यले पनि बजेटमा फरक परेकोभन्दै विरोध जनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य उपेन्द्र महतोले बजेटबाट २९४ पाना गायब गरिएकोभन्दै विरोध जनाउनुभएको थियो । नेपाली कांग्रेसका वीरेन्द्र सिंहले पनि विगतमा ५० लाखभन्दा कमको बजेट नल्याउने बाचा गरिए पनि पाँच लाखसम्मको योजना ल्याएर जनताको अगाडि मुख नदेखाउने अवस्था बनाएको टिप्पणी गर्नुभएको थियो । मुख्यमन्त्री सतिष सिंहलेभने योजना प्रणालीमा प्रविष्टगर्दा केही फरक परेको र विगतमा पनि शून्य तथा कम बजेट भएका योजना रेडबुकमा नल्याउने गरिएको बताउनुभएको थियो ।