काठमाडौं,३१ जेठ । राजनीतिक दलका नेताहरुले मोहनचन्द्र अधिकारीको जीवन नेपाली राजनीतिको प्रेरणादायी पाटो भएको बताएका छन् । ‘नेपाली नेल्सन मण्डेला’ का उपनामले परिचित वरिष्ठ नेता मोहनचन्द्र अधिकारीको जीवनीमा आधारित पुस्तक ‘जगेडा जीवन’ सार्वजनिकगर्न हिजो आयोजित कार्यक्रममा नेताहरुले यस्तो विचार व्यक्त गरेका हुन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोहन चन्द्रको पुस्तक ७७ वर्षे कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज भएको बताउनुभएको थियो । पूर्वप्रधानमन्त्री माधव नेपालले पुस्तकमा मोहनचन्द्र अधिकारीका थुप्रै पाटो उजागर गर्न बाँकी रहेको बताउँदै त्यसका लागि कामगर्न मोहनचन्द्र अधिकारी प्रतिष्ठानलाई अनुरोध गर्नुभएको थियो । उहाँले एक पटक मोहनचन्द्र अधिकारीले झापा आन्दोलनको समीक्षा गरेर भन्ने र केपी ओलीले लेख्ने गरेको डायरी थियो, त्यो कता गयो खोज्नु पर्छ भन्नुभएको थियो । उहाँका पुराना सहकर्मी पूर्वमन्त्री राधाकृष्ण मैनालीले मोहन चन्द्र झापा आन्दोलनको शुरुदेखिनै उमेर, योग्यता, जोसका हिसाबले समेत प्रेरणादायी रहेको बताउनुभयो ।

झापा आन्दोलनका नेता सिपी मैनालीले ५५ वर्षअघि मोहनचन्द्र अधिकारीको जोसिलो नेतृत्वको परिणामस्वरुप आजको जनअधिकार प्राप्त भएको बताउनुभयो । विमोचित पुस्तकमा अधिकारीले सञ्चारकर्मीसँग आफ्नो राजनीतिक जीवनबारे ‘टेप रेकर्ड’मा बोलेको विषयलाई उतारिएको उल्लेख गरिएको थियो । विक्रम संवत् १९९४ मा जन्मिएका अधिकारी आफ्नो काका मनमोहन अधिकारीदेखि मावलतर्फका बिपी कोइरालासम्मको सामीप्य फलस्वरुप राजनीतिमा लाग्नुभएको थियो । शुरुमै कम्युनिष्ट राजनीतिप्रति आकर्षित उहाँ ०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभएको थियो । राजनीतिक जीवनमा पहिलो पटक ०१५ सालमै जेल पर्नुभएका उहाँले पटक पटकगरी १० वटा जेलमा १७ वर्ष बिताउनुभएको थियो । पुस्तक र अधिकारीको जीवनबारे बोल्दै एमाले नेता युवराज ज्ञवालीले मोहनचन्द्र अध्यात्म र भौतिकवाद समन्वय हुनुपर्छभन्ने र गीताको राम्रो अध्ययन गरेका कम्युनिष्ट भएको बताउनुभएको थियो ।

०४६ सालमा रिहा हुनुभएका मोहनचन्द्रलाई आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहले त्रिचन्द्र क्याम्पसमा भएको एक कार्यक्रममा नेपालका नेल्सन मण्डेलाको संज्ञा दिनुभएको थियो । लगत्तै भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरले दिल्लीको जवाहरलाल नेहेरु विश्वविद्यालयमा ‘एशियाको नेल्सन मण्डेला’ भनेपछि उहाँ नेपालको नेल्सन मण्डेलाको नामले चिनिन थाल्नुभएको थियो । २०५९ सालको एमाले महाधिवेशनमा चिनियाँ क्रान्ति शैलीको नीति हुनुपर्ने विचार लिएका मोहनचन्द्र ०५० देखि ०५६ सालसम्म राष्ट्रियसभा सदस्य हुनुहुन्थ्यो । वरिष्ठ चिकित्सक सुन्दरमणि दीक्षितले मोहन चन्द्रको संघर्षबारे नयाँ पुस्तालाई थाहादिनुपर्ने बताउनुभएको थियो ।

पूर्वगृहमन्त्री रमेश लेखकले एउटा पुस्ताको कठोर संघर्षबाट अहिलेको लोकतन्त्र आएको होभन्ने कुरा बुझाउनका लागि मोहनचन्द्रजस्ता नेताको जीवनी भएका पुस्तक आउनु सकारात्मक भएको बताउनुभउको थियो । नेता अधिकारीले कम्युनिष्ट पार्टीको नेतृत्वमा सर्वहारा नभएकाले कम्युनिष्ट आन्दोलनले सोचेको सफलता नपाएको बताउनुभएको थियो ।