काठमाडौं, २६ साउन । रकम अपचलनगर्ने बैंकका कर्मचारीहरु पक्राउ परेका छन् । प्राप्त समाचारअनुसार ठूलो रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उक्त बैंकका शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन् । सो बैंकले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभएको छ । उहाँकाअनुसार उनीहरुमाथि अदालतबाट सातदिनको म्याद थपगरी अनुसन्धान भइरहेको छ । चारैजना कर्मचारीको मिलेमतोमा उक्त शाखाको दुई करोड ८४ लाख ७६ हजार ७०० अपचलन भएको पाइएको छ । उक्त रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो ।

बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो । चारै जनाको मिलोमतोमा रकम अपचलन भएको पाइएपछि बैंकले उनीहरुलाई निलम्बन गरेको छ । उनीहरुले बैंकको मूल खातामा भल्ट रकम मौज्दात देखाएर गैरकानूनी तरिकाले हिनामिना गरेको पाइएको छ । यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभएको छ । बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको बताइएको छ ।