काठमाडौं, २२ भदौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको दोश्रोे राष्ट्रि भेलाले सन्तबहादुर नेपालीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सहितका करिव एकदर्जन कम्युनिष्ट पार्टी र समूहहरु सम्मिलित क्रान्तिकारी मोर्चा नेपालको दोश्रोे राष्ट्रि भेला क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको कार्यालय कुपण्डोलमा हिजो सम्पन्न भएको हो । उक्त भेला क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त मोर्चाको कार्यसमितिका सदस्यहरुमा लोक नारायण सुवेदी, नरेन्द्र बहादुर ताण्डुकार, दिनेश शर्मा , मुकुन्द आचार्य, पुष्कर गौतम, प्रमोद धिताल, शैलज पौडेल, विमल शर्मा, पुष्पलाल श्रेष्ठ, दिनेश वर्तौला, रामशरण मगर, अच्युतराज ज्ञवाली, टेकप्रसाद भट्टराई, नविन कुमार कक्षपती, बाहादुर तारामी मगर, महादेव पोख्रेललाई निर्वाचित गरेको छ ।
लोक नारायण सुवेदीको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन अखिल नेपाल कम्युनिष्ट पार्टीका महासचिव लक्ष्मण उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य दिनेश शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई उद्घाटन सत्र, शुभकामना मन्तव्य सत्र, प्रतिवेदन प्रस्तुत छलफल तथा नयाँ नेतृत्व चयन सत्रगरी तीन चरणमा विभाजन गरिएको थियो । उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले कम्युनिष्ट पार्टी आफैँमा एक बहस भएको बताउनु भएको थियो । उहाँले त्यो बहसले मात्रै कम्युनिष्ट पार्टी जीवित रहने र त्यो जीवित पार्टीले मात्र क्रान्ति सम्पन्नगर्न सक्ने बताउनु भएको थियो ।
अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संस्थापक संयोजक नारायण शर्मा, जनवादी मोर्चाका दिनेश बर्तौला, बुद्वीजीवी महादिप पोख्रेल, प्रतिरोध जनअधिकार अभियानका संगीत श्रोता, नेकपाका शरण बिक्रम मल्ल, नेकपा(मशाल) का पुष्पलाल श्रेष्ठ, कोशी प्रदेशको अंकुलकुमार राउत, मधेश प्रदेशबाट डम्बर ढुंगेल, बाग्मती प्रदेशबाट शैलज पौडेल, गण्डकी प्रदेशबाट दिपक गुरुङ, लुम्बिनी प्रदेशबाट कमल प्रसाद भुसाल लगायत देशभरिबाट उपस्थित प्रतिनिधिहरुले महत्वपूर्ण धारणासहित शुभकामना मन्तव्य राख्नुभएको थियो । दोश्रोे चरणमा भेलाका अध्यक्ष लोक नारायण सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनमाथि ब्यापक अन्तरक्रियात्मक छलफल बहसपछि आवश्यक थपघट परिमार्जनसहित प्रतिवेदन पारित गरिएको थियो । अब मोर्चाको संगठनलाई देशब्यापि रुपमा बिस्तार गरिने भएको छ ।