काठमाडौं,२२ पुस । राष्ट्रिय क्रान्तिकारी मोर्चाका संयोजक सन्तबहादुर नेपालीले एक बक्तब्य प्रकाशितगरी भेनेजुयलामा भएको अमेरिकी हस्तक्षेपको बिरोध गर्नुभएको छ । उहँले बक्तब्यमा भन्नुभएको छ– अमेरिकी साम्राज्यवादको नाइके डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाको डेल्टा फोर्सद्वारा ३ जनवरी २०२६ (२०८२ पौष १९) का दिन भेनेजुएलाको राजधानी काराकासमा बिश्व मान्य अन्तर्राष्ट्रिय कानून, संयुक्त राष्ट्र संघको बडापत्र र सार्बभौम सत्ताको सिद्धान्तलाई ठाडै कुल्चेर नाङ्गो आक्रमणगरी भेनेजुएलाका निर्बाचित राष्ट्रपति निकोलास मादुरो र उहाँकी श्रीमती सिलिया फ्लोरेन्सलाई पक्राउ गरेर अमेरिका पु¥याइएको खबरले बिश्व समुदाय चिन्तित र तरंगित छ । यस्तो अत्यन्तै आततायी सैनिक हस्तक्षेप यसोगर्नुका पछाडि डोनाल्ड ट्रम्पले राष्ट्रपति मादुरोमाथि लागूऔषध कारोबार तथा आतंकवादको फत्तुर लगाएका छन् ।

ट्रम्पले पत्रकार सम्मेलन गरेर अर्को व्यवस्था नहुन्जेल भेनेजुयलाको सत्ता अमेरिकाले सञ्चालनगर्ने र भेनेजुएलाका कुनै कर्मचारीले मादुरोको पक्ष लिएमा नराम्रो हुनेभनेर नग्न धम्की पनि दिएका छन् । अमेरिकी साम्राज्यवादले यसप्रकारको दादागिरी र हस्तक्षेप विश्वका धेरै मुलुकहरुमा गर्दैआएको छ । पछिल्लो समयमा त्यसले भेनेजुएलामा रहेको तेलको भण्डारलाई कब्जागर्नका लागि भेनेजुएलामाथि कथित आरोप लगाएर एउटा सर्वाभौमसत्ता सम्पन्न राष्ट्रमाथि यसरी घोर निन्दनीय आक्रमण गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल अमेरिकी साम्राज्यवादको यसप्रकारको नव फासिवादी तथा आतंककारी नीतिको घोर निन्दा एवं तीब्र भत्र्सना गर्दछ ।

साथै मादुरो दम्पत्तिको तत्काल विनाशर्त रिहाईगर्न र अमेरिकी राज्य आतंक बन्दगर्न जोडदार माग गर्दछ । बक्तब्यको अन्त्यमा हाम्रो मोर्चा अमेरिकी साम्राज्यवादको अन्तर्राष्ट्रिय कानुन विपरीत गरिएको यस प्रकारको नाङ्गो हस्तक्षेपका विरुद्धको संघर्षमा भेनेजुयाली संघर्षशील न्यायप्रेमी जनतासित दृढ ऐक्यबद्धता प्रकट गर्दछ । साथै अमेरिकी साम्राज्यवादीहस्तक्षेप विरुद्ध विरोधगर्न संसारभरीका न्यायप्रेमी जनतासित हार्दिक अपिलसमेत गर्दछ भनिएको छ ।