
काठमाडौं,४ पुस । सहकारीको रकम ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बैंक जमानत स्वीकारगरी रिहागर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा रहेकै अवस्थामा हिजो उक्त आदेश भएको हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले अदालतबाट अन्तिम फैसलाहुँदा ठहरे बमोजिम हुनेनै हुँदा बिगोका हकमा थप दायित्व सिर्जना गरेमा र तिर्न बुझाउन मञ्जुर भए सोको कागजगरी प्रतिवादी रवी लामिछानेलाई सुप्रिम सहकारीको रकम ठगी मुद्धाको रोहबाट थुनामुक्तगर्नु भनी आदेश भएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिनुभएको छ । सहकारीको रकम अपचलन मुद्धामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रवाह भएको बिगोमध्ये दामासाहीले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी लिई मुद्धाको पूर्पक्ष गरी पाउँभनी माग गरेको बताइएको थियो ।
यसैबीच अर्को एक समाचारअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वयगर्न स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल गठन गरेको थाहा भएको छ । पार्टीको सचिवालय बैठकले सो कार्यदल गठनगर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको छ । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र रञ्जु दर्शना रहेको बताइन्छ ।