मस्को, ४ असोज । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसंघको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्तागर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आक्रमण अन्त्यका लागि कुनै सम्झौता नगरेकोमा मस्को र रुसी नेता भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरिरहेका समय दुई उच्च कुटनीतिज्ञबीच भेट वार्ता हुन लागेको हो । आफ्नो चुनावी अभियानमा राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पले द्वन्द चाँडै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर पुटिनले युद्धविरामका लागि आफ्नो अडानबाट पछि नहटेपछि युद्धविराम हुन सकेको छैन । उहाँले मस्कोको सर्तमा शान्ति सम्झौता हुन नसकेमा लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
लाभरोभ र रुबियोले द्विपक्षीय र बहुपक्षीय दुवै विषयमा छलफल गर्नेछन् । संयुक्त राष्ट्रसंघका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले अहिलेसम्म कुनै विशेष एजेन्डा छैन, तर बैठकको योजना बनाइएको छ भन्नुभयो । रुस र युक्रेनबीच तीन चरणको वार्ताले सम्झौताको दिशामा कुनै प्रगति गरेको छैन । सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण शुरु गरेयता दशौँ हजार व्यक्ति मारिएका छन् भने लाखौँ युक्रेनीहरुलाई देशको पूर्वी र दक्षिणमा रहेको आफ्नो घरबाट विस्थापित भएका छन् । पुटिनले आफूलाई ‘वास्तवमै निराश पारेको’ राष्ट्रपति ट्रम्पले गत बिहीबार बताउनुभएको थियो । उहाँले क्रेमलिनलाई वार्षिक दशौँ अर्ब डलर प्रदानगर्ने रुसी तेल खरिद नगरी वार्ताका लागि दबाव दिन सहयोगी मुलुकहरुलाई आग्रह गर्नुभएको छ । रासस÷एएफपी