काठमाडौं, १३ पुस । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा प्रवेश शुल्क संकलनका लागि बोलपत्र आह्वान गरेपछि विवाद शुरुभएको हो । उक्त बोलपत्र खप्तड निर्माण सेवा, बाजुराले पाएको छ । विगतदेखि ताल संरक्षणमा सक्रिय सामुदायिक वन र सरोकार भएका संघसंस्थासँग आवश्यक समन्वय नगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघिबढाएकोभन्दै विवाद सिर्जना भएको हो । विवादका कारण ठेक्का पाएको तीन महिना बितिसक्दा पनि कामगर्न नपाएको निर्माण कम्पनीका प्रतिनिधि विक्रम रावलले गुनासो गर्नुभयो । उहाँकाअनुसार बोलपत्रबापत १६ लाख ४० हजार नगरपालिकामा जम्मा गरिसकिएको अवस्थामा हालसम्म कार्यस्थलमा कामगर्ने अवस्था बनेको छैन । रावलले आफ्नै ठाउँमा केहीगर्ने उद्देश्यले लागेका हौँ, तर अहिले कामगर्न पाइएको छैन भन्नुभयो । घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क विगतका वर्षमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले संकलनगर्दै आएको थियो ।

त्यसपछि भने घोडाघोडी सामुदायिक वनले उक्त शुल्क संकलनगर्दै आएको छ । ताल क्षेत्रको संरक्षण आफूहरुले गर्दै आएकाले प्रवेश शुल्क लिने अधिकार पनि सामुदायिक वनको हुनुपर्ने आफूहरुको माग रहेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले बताउनुभयो । उहाँले सरोकार भएका निकायसँग कुनै किसिमको समन्वय नगरी नगरपालिकाले बोलपत्र आह्वानगर्न नहुने धारणा राख्नुभयो । स्थानीय उपभोक्ताले संरक्षणगर्दै आम्दानी लिन थालेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेकोभन्दै आक्रोशित बनेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदनसमेत दिएका छन् ।

यसैबीच, नगरप्रमुख खडकबहादुर रावतले प्रवेश शुल्कसम्बन्धी विवाद समाधानका लागि सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भइरहेको बताउनुभयो । उहाँले तीन महिना भइसक्दा पनि ठेक्का पाउनेहरुले कामगर्न पाउनुभएको छैन । सबै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र समन्वय गरेर विवाद समाधानगरी कामगर्ने वातावरण बनाउने छौँ भन्नुभएको थियो । रासस