काठमाडौं, ७ मंसिर । सरकारले सहकारीमा रु एक लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्तागर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्तागर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो । सानो रकम फसेका पीडित नागरिकलाई चक्रिय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माणगरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानून मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सहप्रवक्ता दामोदर वाग्लेले जानकारी दिनुभयो । उहाँकाअनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बीउ पुँजीका रुपमा चक्रिय कोषमा जम्मा गर्नेछ ।

त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलामगरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठनगरी राष्ट्रिय अभियान सञ्चालन गर्दैआएका छन् । देशभरि करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगीगर्ने सञ्चालकलाई कारवाहीको मागगर्दै आएका थिए ।