काठमाडौं,२८ साउन । आगामी ३० गते क्रान्तिकारी मोर्चाको भर्चुअल  बैठक हुने भएको छ । मोर्चाका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य मार्फत उपरोक्त जानकारी दिनु भएको हो । उहाँले बक्तब्यमा जनाउनु भएअनुसार राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको कार्य सम्पादन समितिको बैठक मोर्चाका संयोजक लोकनारायण सुवेदीको संयोजकत्वमा ललितपुर कुपण्डोलमा हालै बस्यो । बैठकमा कार्य सम्पादन समितिका सदस्यहरु सन्तबहादुर नेपाली, दिनेश शर्मा, लक्ष्मण उप्रेती, पुष्कर गौतम र शैलजा पौडलको उपस्थिति रहेको थियो । बैठकले बिभिन्न निर्णयहरु गरेको छ । जसमा बैठकले मोर्चाको आगामी केन्द्रिय भेलाका लागि केन्द्रिय समितिमा प्रस्ताव लान र छलफलगरी अन्तिम निर्णय लिन केन्द्रिय समितिको भर्चुअल बैठक आगामी ३० गते बेलाउने निर्णयगर्दै बैठकमा मोर्चामा सहभागी हरेक घटकबाट दुइ, दुइ जनाको प्रतिनिधित्व गराउने त निर्णय लिएको छ । त्यसैगरी बैठकले केन्द्रिय समितिको भर्चुअल बैठकमा भेलाका लागि आगामी भाद्र २१ गतेको दिन प्रस्ताबितगर्ने निर्णय लिएको छ । त्यसैगरी राष्ट्रिय भेलामा प्रत्येक घटकबाट बढीमा पाँच जना सहभागी गराउने र प्रत्येक घटकले भेलाका लागि तोकिएको रकम अग्रिम भुक्तानी गर्नुपर्ने प्रस्ताव केन्द्रिय समितिको भर्चुअल बैठकमा पेशगर्ने कुरा पनि पारित गरिएको छ ।

त्यसैगरी कार्य सम्पादन समितिमा बर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अत्यन्तै तरल, अनिश्चित र जटील बनेको र यस स्थितिले बिश्वका नेपाल लगायत उत्पीडित राष्ट्र र शोषित पीडित जनतालाई गम्भीर नकारात्मक असर पारिरहेको बिषयमा गम्भीर छलफल भएको छ । त्यसैगरी बैठकले राष्ट्रिय परिस्थिति पनि बाह्य हस्तक्षेप र आत्म समर्पणबादी सत्ताधारीहरुको प्रबृत्तिलेगर्दा देश र जनताको स्थिति गम्भीर खतराको दिशामा धकेलिदै गएको मूल्यांकन गरेको छ । त्यस प्रकारको गम्भीरतम र जटील बन्दैगएको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा बैदेशिक हस्तक्षेप र प्रतिकृयावादका बिरुद्ध रहेका सच्चा क्रान्तिकारी कम्युनिष्ट तथा सच्चा लोकतन्त्रबादी एबं देशभक्त शक्तिहरु पहिले कहिल्यैभन्दा बढी सजग, संगठित र एकताबद्ध हुनुको कुनै बिकल्प छैन भन्ने बैठकले निष्कर्श निकालेको बक्तब्यमा उल्लेख छ ।