काठमाडौं । नेकपा मसालका महामन्त्रि मोहनबिक्रम सिंह साहित्यकारहरुको एक भेलामा उपस्थित हुनुभएको छ । त्यसक्रममा उहाँले एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाजको निर्माणगर्ने महान जिम्मेवारी भएको बताउनुभएको थियो । प्रगतिशील लेखक संघ, नेपाल बैचारिक विमर्श तथा परिसंवाद विभागको आयोजित ८० औं श्रृंखलाको अवसरमा उहाँले सो धारणा राख्नुभएको हो । गत १३ गते नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आयोजित कार्यक्रममा साहित्यकार सिंहले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती तानाशाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलकासाथै साहित्यकार, बुद्धिजीवीहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै राजनीतिक रुपले आन्दोलन सञ्चालन गरेरमात्र प्रतिगमनका विरुद्धको आन्दोलन सशक्तरुपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णाणात्मक विजय प्राप्तगर्न सम्भव नहुनेहुँदा बैचारिकस्तरमा पनि ठूलो अभियान सञ्चालन गर्नुपर्ने र त्यो कार्य लेखक र साहित्यकारहरु अगाडि आएपछि नै पूरा हुनसक्ने बताउनुभएको थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालकोसमेत सहकार्य रहेको कार्यक्रममा प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहले गणतन्त्रको रक्षा र प्रतिगमनका विरुद्धको संघर्षको प्रश्नमामात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रुपान्तरणगर्नका लागि पनि साहित्यकारहरुले उच्च दार्शनिक वा वैचारिकस्तरमा आफूलाई ढाल्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । साहित्यकार मोहनविक्रमको प्रस्तुतिमा माथि टिप्पणीगर्दै प्रलेसका पूर्वअध्यक्ष तथा सल्लाहकार प्रा.डा.जीवेन्द्रदेव गिरीले प्रगतिशील साहित्यकारहरुले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने क्षमताको विकास गर्नुपर्ने बताउनुभएको थियो । उहाँले मोहनविक्रमको कार्यपत्र सूत्रात्मक छ, यसप्रकाको विचारलाई थप लेखन तथा अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता छ भन्नुभएको थियो । बैचारिक विमर्श तथा परिसंवाद विभागका संयोजक समीर सिंहको अध्यक्षतामा अगाडि बढेको कार्यक्रममा सञ्चालन विभागका सदस्य कुशल बोगटी तथा स्वागत अर्का सदस्य डा.कृष्ण सुवेदी भारद्वाजले गर्नुभएको थियो । (देशप्रेम साप्ताहिकबाट)