काठमाडौं,२ कात्तिक । सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि दाहाल सर्वसम्मत चयन हुनुभएको छ । समूहको हालै सम्पन्न साधारणसभाले दाहाललाई अध्यक्षमा चयन गरेको हो । विगत एक दशकदेखि सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वका पक्षमा आवाज उठाउँदै आएको नागरिक समूहले नयाँ नेतृत्वको आगमनसँगै आगामी दिनमा अभियानलाई अझ व्यवस्थित, प्रभावकारी र समावेशीरुपमा अघिबढाउने घोषणा गरेको छ । नवनिर्वाचित अध्यक्ष दाहालले आफ्नो कार्यकाल मुलुकको आर्थिक रुपान्तरण, सुशासन र राष्ट्रिय समृद्धिको अभियानमा केन्द्रित रहने बताउनुभयो । उहाँले नेपालभित्र र बाहिर रहेका सबै देशभक्त नागरिकलाई यो अभियानसँग जोडिन आह्वान गर्नुभयो ।

सभामा गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । वक्ताहरुले उक्त आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा ऐतिहासिक परिवर्तन ल्याएकोभन्दै यसको उपलब्धिहरुको रक्षागर्नु आजको मुख्य आवश्यकता रहेको बताए । समूहका प्रतिनिधिहरुले नेपाल अहिले संकटग्रस्त अवस्थामा रहेको उल्लेखगर्दै, पछिल्ला आन्दोलनले दिएको सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सबै सचेत नागरिकले एकताबद्ध भएर अघिबढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक स्थायित्व कायमगर्दै देशलाई समृद्ध र सशक्त बनाउने लक्ष्यका साथ नागरिक समूहले नयाँ अभियान शुरु गरेको पनि जनाएका छन् ।