काठमाडौं, ९ भदौ । सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छपाइगर्दा भएको भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले अन्तःशुल्क स्टिकर छाप्दा त्यसमा संलग्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव डा बैकुण्ठ अर्यालसमेतका १२ जना प्रतिवादीले बदनियतपूर्वक सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गराई भ्रष्टाचारजन्य कसुर गरेको आरोप लगाएको थियो ।

आयोगले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बराबरको बिगो दावीगर्दै मुद्धा दायर गरेको थियो । विशेष अदालतले सो मुद्धामा २०८१ मंसिर १३ गते फैसला गरेको थियो । त्यसमा केही प्रतिवादीलाई आशिंक ठहर गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो । उक्त फैसलामा चित्त नबुझेकोभन्दै आयोगले आइतबार सर्वोच्च अदालतमा मुद्धा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभउको छ ।