काठमाडौं,२२ पुस । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलले स्वदेशवादी अभियान घोषणा गरेको छ । हालै आयोजित एक पत्रकार सम्मेलनमार्फत अभियानको अवधारणा र आगामी कार्यदिशाबारे जानकारी दिइएको हो । अभियानका संयोजक सूर्य माखिमले आगामी माघ १७ गते काठमाडौंमा स्वदेशवादी अभियानको औपचारिक घोषणा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभएको थियो । उहाँले उदारवाद र माक्र्सवादजस्ता आयातीत विचारधाराले राष्ट्रको राजनीति प्रभावित बनाइरहेको उल्लेखगर्दै त्यसको विकल्पका रुपमा स्वदेशवादी राजनीतिक अवस्था निर्माणगर्ने उद्देश्यले अभियान सञ्चालनगर्न लागिएको बताउनुभयो । संयोजक माखिमले विदेशवादी अभियानका कारण आयातीत विचारले राजनीति सञ्चालन भइरहेको छ ।
त्यसलाई विस्थापनगर्दै स्वदेशी सोचमा आधारित राजनीति निर्माणगर्नु हाम्रो लक्ष्य हो भन्नुभएको छ । स्वदेशवादी अभियानले राष्ट्रको विकासमा टेवा पु¥याउनुका साथै विद्यमान समस्याबाट मुलुकलाई निकाश दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका प्रमुख आचार्य डा वासुदेवकृष्ण शास्त्रीले देश राष्ट्रिय राजनीतिक संकटमा परेको अवस्थामा राष्ट्रवादी जनता एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल राष्ट्रिय राजनीतिक गुरुकुलका राष्ट्रिय संयोजक लेखक सौरभले स्वदेशवादी अभियान राष्ट्रियहितको संरक्षण र स्वदेशी विचारको प्रवद्र्धनका लागि अघि बढाइएको बताउनु भएको थियो ।
उहाँले जब देश राष्ट्रिय राजनीतिक संकटमा पर्छ, तब राष्ट्रवादी जनता एकजुट र एकताबद्ध हुनुपर्छ । अहिलेको विषम परिस्थितिबाट राष्ट्रलाई निकास दिन स्वदेशी चिन्तन र मूल्यमा आधारित राजनीति अपरिहार्य छ भन्नुभएको थियो । अभियानले राष्ट्र अहिले विषम परिस्थितिबाट गुज्रिरहेको र त्यसबाट निकास दिन स्पष्ट रणनीतिसहित अघि बढ्ने जनाएको छ । घोषणा कार्यक्रममा देशव्यापी स्वदेशीय संवाद यात्रा, पशुपति संवाद, गुरुकुल शिक्षाको पुनर्जागरणलगायत कार्यक्रम सार्वजनिक गरिने स्वदेशवादी अभियानले जानकारी दिएको छ ।