काठमाडौं, २९ कातिक । हङकङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङकङ ट्रान्जिटहुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ । नेपाली महावाणिज्य दूतावास हङकङले आज शनिबार (सन् २०२५ को नोभेम्बर १५) देखि लागूहुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।
महावाणिज्य दूतावासले एक विज्ञप्ति जारीगरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङकङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रागर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो । हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङकङ ट्रान्जिटहुँदै यात्रागर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ । साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरुलाई हङकङ ट्रान्जिट भएर यात्रागर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।
महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा हङकङ सरकारको यो कदमले नेपाल र हङकङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउनेहुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारकातर्फबाट महावाणिज्य दूतावास हङकङ सरकारलाई धन्यवाद दिन चाहन्छ भनिएको छ ।