काठमाडौं,२७ असार । क्रानितकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मसाल) सहितका बिभिन्न १२ वटा पार्टी तथा संस्थाहरुले आज काडमाडौंमा साम्राज्यवाद बिरुद्ध प्रदर्शन र सभा सम्पन्न गरेका छन् । दिउँसो करिव दुईबजे अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेष्टाइन र इरानलगायतमाथि थोपरेको युद्धको विरोधगर्दै उनीहरुले शान्ति शान्तिवाटिकाबाट जमल, बागबजार, पुतलीसडकहुँदै भृकटीमण्डपसम्म जुलुस प्रदर्शन गरेका थिए । भृकुटीमण्डपमा बिरोधसभा भएको थियो । नेकपा (मसाल) का नेता समीर सिंहको सञ्चालन र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलको अध्यक्षतामा भएको सो कार्यक्रममा जनता समाजवादी पार्टीका लालबहादुर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सुशेला संगीत समूह, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम, जनवादी सांस्कृतिककर्मी कुश्मिता दर्लामीलगायतले सांगीतिक प्रस्तुति दिनुभएको थियो । सो कार्यक्रमलाई माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका नेता तथा राष्ट्रियसभाका सांसद खालिद सिद्धिकी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसदचित्रबहादुर केसी, नेपाल कम्युनिष्ट पार्टीका चिरन पुन, जनता समाजवादी पार्टीका राजु थापा, क्रान्तिकारी कम्युनिष्ट पार्टीका रामसिंह श्रीस, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा (बहुमत) का सागर लिम्बु, देशभक्त समाजवादी मोर्चाका गोपाल किराँती र राजनीतिक संवाद थालनी अभियानका संयोजक संगीत श्रोताले मन्तव्य राख्नुभएको थियो ।