काठमाडौं, १५ असोज । सामाजिक सञ्जाल मौसमी सूचना प्रवाह र प्राप्तिमा सहयोगी देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सामाजिक सञ्जालको प्रयोगमा जोडदिँदा आमनागरिकलाई मौसमी सूचना प्राप्तगर्न सहज भएको बताइन्छ । मौसम पूर्वानुमान महाशाखाले नेपाल वेदर फोरकाष्ट र बाढी पूर्वानुमान महाशाखाले नेपाल बाढी सूचना नामको फेसबुक पेज सञ्चालनमा ल्याएको छ । यी दुई सञ्जालमा नियमितरुपमा मौसमी सूचनादिँदा सूचना प्रवाह र प्राप्तिमा सहज भएको हो । मौसमी सूचनाका साथै बाढी र वर्षाको अवस्थालगायत अन्य जनचेतनामूलक जानकारीहरु दिने गरिएको छ । नेपाल वेदर फोरकाष्टमा आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श भनेर सन्देश दिइएको छ । सन्देशमा कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सबैमा अनुरोध छ भनिएको छ । सञ्जालमा मनसुन सक्रिय भएका बेलामा या अन्य बेलामा मनसुनबारे प्राविधिक कुराका साथै कहाँ कहाँ पानी पर्छभनेर शब्द तथा दृश्यमा विवरण राख्ने गरिएको छ ।
यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई निक्कै सजिलो भएको छ । बाढी पूर्वानुमान महाशाखाकी हाइड्रोलोजिष्ट इञ्जिनियर जिंकी भुसालले नेपाल बाढी सूचनामा पनि त्यसैगरी जानकारीमूलक दृश्य सामग्री राखिएको बताउनुभउको छ । उक्त दृश्य सन्देशमा पानी पर्नथालेपछि आफू नजिकैको खोलामा बाढी आउला कि नआउँला भन्ने चासो तपाईलाई पनि हुनसक्छ । यसका लागि तपाईं आफैँले हाम्रो वेबसाइट र सामाजिक सञ्जाल हेरेर बाढीबारे थाहा पाउन सक्नुहुन्छ भनिएको छ । सामाजिक सञ्जालदेखि बाढीको अवस्थाबारे सबैले बुझ्नेगरी सूचना राखिएको उहाँले उल्लेख गर्नुभयो । युट्युव, टिकटक र ट्विटरमा पनि यसैगरी सूचना राख्ने गरिएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताउनुभउको छ । यसरी नियमितरुपमा सामाजिक सञ्जालबाट सूचना प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन सामाजिक सञ्जाल निक्कै प्रभावकारी भएको विभागको निष्कर्ष रहेको पाइन्छ ।