काठमाडौं,१८ असोज । नेपाल कम्युनिष्ट पार्टींले संवेदनशील परिस्थितिमा उच्च सतर्कता, तयारी र सहकार्य अपरिहार्य भएको जनाएको छ । सो पार्टीका संयोजक लोकनारायण सुवेदीले आज एक बक्तब्य प्रकाशितगरी उपरोक्त आह्वान गर्नुभएको हो । उहाँले बक्तब्यमा अविरल वर्षाका कारण देशका बिभिन्न स्थानमा बाढी, पहिरो, डुबान, बाटोघाटो अवरुद्ध हुनुकासाथै जनधनमा क्षति पुग्ने सम्भावना अत्यन्तै उच्च बनेको छ । यस संवेदनशील परिस्थितिमा उच्च सतर्कता, तयारी र सहकार्य अपरिहार्य भएको छ । नेपाल कम्युनिष्ट पार्टी सम्भावित प्राकृतिक विपत्तिबाट जोगिन सतर्क रहन, जोखिम कमगर्न स्थानीय स्तरमा सुसूचित गराउन, एकअर्कालाई सहयोगगर्न र विपत्तिपीडितलाई सकेसम्म तत्काल सहयोग पु¥याउन सम्पूर्ण नेता तथा कार्यकर्ता र आम नेपाली जनसमुदायमा विशेष आह्वान गर्दछ । देश अभूतपूर्व संक्रमणकालिन कठीन परिस्थितिको सामना गरिरहेको छ । यस्तो अवस्थामा प्राकृतिक विपत्तिबाट थप चुनौती आइपर्ने भएकाले धैर्य, साहस र विवेकको सदुपयोगगरी हातेमालोगर्दै अघिबढ्न सबैलाई नेकपा दृढ आह्वान गर्दछ भन्नुभएको छ । प्राप्त समाचारहरु अनुसार सरकारले भोली असोज १९ र पर्सी २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले आज सूचना जारीगरी वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षयलगायत जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी भोलि आइतबार र पर्सी सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताएको हो । मन्त्रालयले जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार आज असोज १८ देखि २० गतेसम्म देशका बिभिन्नस्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जनाउँदै हाल देशका बिभिन्नभागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध पनि गरेको छ । अविरल वर्षाका कारण काठमाडौं उपत्यका भित्रने र बाहिरिने बिभिन्नराजमार्गमा सवारीसाधन रोकिएका छन् । चन्द्रागिरि नगरपालिकाबाट बिभिन्ननाकाहुँदै काठमाडौंबाट धादिङ र मकवानपुर भएर बाहिरिने सडकखण्डमा अर्को आदेश नभएसम्मका लागि दुवैतर्फका सवारीसाधन होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ । पहिरोले रसुवाको गोसाइँकुण्ड–२ घट्टेखोला, बालुवाखानी र तातोपानीस्थित पासाङल्हामु सडकखण्ड पनि अवरुद्ध भएको छ ।
संखुवासभाको भोटखोला–४ स्थित वरुणखोलाको बाढीले ह्युमपाइप बगाउँदा सदरमुकाम खाँदबारीबाट थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । पहिरोको जोखिम बढेपछि बिपी राजमार्गमा यही असोज २१ गतेसम्म साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम सवारी सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकको भोटेकोशी–४ चारकिलोस्थित अरनिको राजमार्गको केही भाग भासिएकाले भाअिन्दाजी सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्राप्त समाचारअनुसार ओलखढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानं ६ र ७ को सीमास्थित भँडारे खोलाको बाढीले सदरमुकाम जोड्ने सडकमा क्षति भएको छ । बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । विभागले वारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्यक्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ ।