काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको शुरुवाती तीन महिनामा ३५ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्तभएको छ । उद्योग विभागले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी मासिक प्रतिवेदनअनुसार गत साउनदेखि असोज मसान्तसम्ममा ३११ वटा उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार बराबरको लगानी प्रतिबद्धता आएको हो । चालु आर्थिक वर्षमा सातवटा ठूला, चारवटा मध्यम र ३०० वटा साना उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्तभएको विभागले जनाएको छ ।

विभागकाअनुसार गत असोजमा मात्र ७५ वटा साना उद्योगमा दुईअर्ब चार करोड ५७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ । हालसम्म विभागमा सात हजार ५५० वटा उद्योगमा छखर्ब ८६ अर्ब ५५ करोड ९९ लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको छ । गत साउनदेखि असोज महिनासम्म भित्रिएको प्रत्यक्ष वैदेशिक लगानीको तथ्यांक हेर्दा सबैभन्दा बढी सूचना प्रविधिमूलक क्षेत्रका १६२ वटा उद्योगका लागि १५ करोड ३७ लाख ३२ हजार बराबरको लगानी प्रतिबद्धता आएको छ ।

रकमका आधारमाभने पर्यटनमूलक क्षेत्रका १०३ उद्योगमा सबैभन्दा धेरै एकअर्ब ४६ करोड बराबरको लगानी प्रतिबद्धता आएको हो । उत्पादनमूलक क्षेत्रका १५ उद्योगमा २१ करोड १० लाख, कृषिमूलक क्षेत्रका ११ उद्योगमा चार करोड र सेवामूलक क्षेत्रका १९ उद्योगमा १८ करोड १० लाख बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । रासस