काठमाडौं, १ मंसिर । तत्कालीन माओवादी केन्द्रले माओवाद परित्याग गर्नुकासाथै निर्वाचन आयोगमा अर्कै दल दर्ता गरेपछि माओवादी पार्टी समेत खारेज गरिएको छ । निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीकोक्रम जारीरहँदा हिजोसम्ममा १२२ दल कायम रहेका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेजभई १२२ राजनीतिक दल कायम रहेको जानकारी दिनुभएको छ । निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने हिजो अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आबेदनबारे आबश्यक कागजात हेरेर आयोगले चाँडै निर्णयगरी दल दर्ताको प्रमाणपत्र दिइने भएको छ । दल दर्ताका लागि आगामी ५ गतेसम्म म्याद समेत थपिएको छ ।

हाल आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन रहेको छ । आयोगको कार्यतालिका अनुसार आज मंसिर एक गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ । यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ । हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका दलहरु समायोजितभई दलको संख्या घटेको बताइन्छ । आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थपगरेर आगामी आगामी पाँचगतेसम्मका लागि कायम राखेको छ ।