काठमाडौं, १६ मंसिर । कालीकोटका सामुदायिक बिद्यालयमा विषयगत शिक्षक पाउन कठीन हुनेगरेको छ । सामुदायिक बिद्यालयमा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षक पाउन कठीन हुनेगरेको हो । जिल्लाको नरहरिनाथ–७ माल्कोट उच्छवस्थित रुपादेवी माध्यमिक बिद्यालयमा गणित विषय शिक्षकका लागि १९ पटक विज्ञापन गरिसक्दा पनि शिक्षक पाउन सकिएको छैन । दुर्गममा पर्ने यो बिद्यालयले संघीय अनुदान कोटामा गतबर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९औँ पटकको विज्ञापन गरेको हो । वैशाखयता १५÷१५ दिनको फरकमा १८ औँ पटक विज्ञापनगर्दा पनि दर्खास्त नपरेको बिद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले बताउनुभयो । उहाँले गणित विषयको शिक्षक पाउनै कठीन भएको छ । शिक्षक अनुमतिपत्र लिएको व्यक्ति आवश्यक हुन्छ । अहिलेसम्म पनि कसैको दर्खास्त परेको छैन भन्नुभयो । गत कात्तिक ३० गते बिद्यालयले १९औँ पटक आवेदन आह्वान गरेको थियो तर अध्यापन अनुमतिपत्र (लाइसेन्स) भएको शिक्षक हालसम्म नपाइएको प्रधानाध्यापकले जानकारी दिनुभयो । उहाँले अहिले पनि दर्खास्त नपरे पुनःविज्ञापन गर्नुपर्ने हुन्छ ।

स्थानीयले मानापाथी उठाएर ०३५ सालमा स्थापनागरेको रुपादेवी बिद्यालयमा बालविकासदेखि १० कक्षासम्म ३७५ जना बिद्यार्थी अध्ययनरत छन् । तीन जना प्राथमिक बिद्यालयमा स्थायी दरबन्दी भएको बिद्यालयमा पालिका अनुदान, निजी श्रोतगरी १३ जना शिक्षक कार्यरत छन् । त्यस्तै, जिल्लाको शुभकालिका–५ का माध्यमिक बिद्यालयमा दरबन्दी शून्य छन् । दाहाल मावि सुकाटिया र वडानं एकको जनता माध्यमिक बिद्यालय छातीले पनि संघीय अनुदानको विज्ञान, गणित र अंगे्रजी विषयका शिक्षक नपाएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज आचार्यले बताउनुभयो । उहाँले स्थायी दरबन्दी नभएका १२ वटा माध्यमिक बिद्यालयलाई अंग्रेजी, गणित र विज्ञान विषयका प्रतिबिद्यालय तीनजना शिक्षकका लागि संघीय अनुदानको आएको छ । प्रतिव्यक्ति ४३ हजार ६८९ तलव दिने सरकारी नीति छ । तर, यहाँ शिक्षक पाउन कठीन छ भन्नुभयो । पलाता गाउँपालिकाले गतबर्ष अंग्र्रेजी, गणित र विज्ञान विषयका शिक्षक व्यवस्थापनगर्न संघीय अनुदानको बजेटबाट आफै विज्ञापन गरेपनि दर्खास्त नपरेको शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईले बताउनुभएको छ । उहाँका अनुसार विषयगत शिक्षक नपाउनु कालीकोटका नौवटै स्थानीय तहको साझा समस्या हो । रासस