
काठमाडौं, १९ मंसिर । ०७२ को संविधानमा संशोधन बिना देश अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको बताउन थालिएको छ । यसैक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताउनुभएको छ । सुनसरीको धरानमा गत बुधबारदेखि भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा हिजो पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेखगर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राख्नुभएको होे । आगामी फागुन २१ गतेनै निर्वाचन हुनुपर्ने धारणाराख्दै अध्यक्ष यादवले लोकतन्त्रलाई सुदृढ बनाउन भयमुक्त वातावरण र सुरक्षाको प्रत्याभूति राज्यले सुनिश्चित गर्नुपर्ने बताउनुभएको थियो ।
वर्तमान सरकारले सुशासन, समानुपातिक पहुँच र भ्रष्टाचार नियन्त्रणजस्ता जनमहत्वका मुद्धा समाधानतर्फ अघि बढ्न नसकेको उहाँको आरोप थियो । जेनजी आन्दोलनले उठाएका धेरै मुद्धा समाधानका चरणमा नपुगेका र यसबारे सरकार जिम्मेवार नदेखिएको उहाँको भनाइ थियो । सर्वोच्च अदालतको आदेशलाई सम्मानगर्दै चुनावी प्रक्रियालाई अविलम्ब अगाडि बढाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने उल्लेखगर्दै अध्यक्ष यादवले संसद् पुनःस्थापना भए पनि दिगो राजनीतिक समाधान खोज्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले राष्ट्रिय सुविधा सेवा तथा राज्यका अंगमा सबै समुदायको समानुपातिक पहुँच सुनिश्चित हुनु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको थियो ।