काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिनेगरी प्रणाली स्थापितगर्न उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानून मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा श्रम समस्याका विषयमा छलफलकाक्रममा प्रधानमन्त्री कार्कीले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धारगर्न पनि ताकेता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालकोमात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

उहाँले म्यानपावर व्यवसायी मोटाउने काम मात्र नगरौँ । म्यानपावरलाई सचेत गराउनुप¥यो । अलपत्र पार्न भएन भन्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्नसमेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुप¥यो । तालिम लिनुप¥यो । राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुप¥यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन । दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन् ।

यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ भन्नुभयो । कार्यक्रममा कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानून मन्त्रालयका सचिव पाराश्वर ढुंगानालगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो । रासस