तस्वीर रासस

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्रि सुशीला कार्की र आफूलाई जेनजी बताउने केही समूहहरुका बीचमा हिजो भएको १० बुँदे सहमतिले बिवाद बढाउने संकेत गरेको छ । उक्त सहमतिलगत्तै केही जेनजी नामका समूहहरुले बिरोध जनाएका छन् । हिजो भएको सहमतिमा गत भदौ २३ र २४ गते बिध्वंश मच्चाउनेहरुमाथि सख्त कारवाहीगर्ने कुनै बुँदा नपरेकोभन्दै जनस्तरमासमेत बिरोध शुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हिजो साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा मृत्यु भएका र घाइते प्रतिनिधिकातर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको बताइएको थियो । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुंगाका रुपमा खडा रहने विश्वास व्यक्त गर्नुभएको थियो । सहमतिमा गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्धा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरु समेटिएको भनिएको छ ।

सो अवसरमा सरकारका मन्त्रीहरु, मुख्यसचिवलगायत उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त सहमति भए लगत्तै जेनजी मुभमेन्ट नेपालका प्रबक्ता बिजय शाहले एक बक्तब्य प्रकाशितगरी संझौताको बिरोध गर्नुभएको थियो । उहाँले बक्तब्यमा आफ्ना कतिपय मागहरुको सम्बोधन नगरिएको बताउनु भएको छ । उहाँले हिजो भएको संझौता अमान्य रहेको बताउँदै सर्बपक्षीय सरकारको निर्माणगर्दै संविधानको पुनरलेखनमा जोड दिनुभएको छ । त्यसैगरी आफूलाई जेनजी आन्दोलनका मुख्य अभियन्ता बताउने मिराज ढुंगगनाले पनि उक्त सहमतिले आन्दोलनका मूल आवाज र मागहरुको उचित प्रतिनिधित्वगर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले एक प्रेस विज्ञप्तिमा उक्त सम्झौताले जनआन्दोलनको ‘वास्तविक मर्म, भावना र निर्णायक निष्कर्षहरु समेट्न नसकेको’ दाबीगर्दै यसलाई अस्वीकार्य भएको बताउनुभएको छ । विज्ञप्तिमा सम्झौतापत्रमा आन्दोलनका केही मागहरु सम्बोधन भए पनि प्रमुख मागहरु स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रुपमा समेटिएका छैनन् र चुनावअघि तिनको कार्यान्वयनबारे कुनै सुनिश्चितता दिएको छैन भन्नुभएको छ ।

ढुंगानाले सरकारको हालको सम्झौता प्रक्रियाले देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभूत आवाजलाई बेवास्ता गरेको आरोप पनि लगाउनुभएको छ । उहाँले बक्तब्यमा व्यापक सर्वपक्षीय जनआवाजलाई बेवास्तागर्दै केही स्वार्थ समूहसँग गरिएको राजनीतिक सम्झौताले भविष्यमा अझ गम्भीर अविश्वास र अस्थिरता निम्त्याउन सक्ने उल्लेख गर्नुभएको छ । उहाँले उक्त सम्झौतालाई ‘आन्दोलन तुहाउने षड्यन्त्र र भ्रमपूर्ण’ भएको आरोप लगाउँदै आफूहरु यसका घोर विरोधी रहेको घोषणा गर्नुभएको छ ।

त्यसैगरी सम्झौतामा हस्ताक्षर भएलगत्तै जेनजीहरुको एउटा समूहले प्रधानमन्त्री कार्यालयमै विवाद गरेको थियो । उनीहरुले सम्झौताको प्रति समेत च्यातिदिएका थिए । सम्झौताले आफूहरुको माग पूरा नहुने भएकाले च्यातिदिएको जितेन्द्रकुमार महतोले बताउनु भएको थियो । उहाँले सो सम्झौताको ड्राफ्ट कसले बनाएको हो, यसमा हाम्रो संलग्लता छैन । त्यहाँ धेरै राख्नुपर्ने कुराहरु छन् । ती कुराहरुलाई राखेकै छैन । दुईचार जना जेनजी भोलेन्टियर राखेर प्रधानमन्त्री कार्यालयमा आफूहरुलाई बोल्नै दिइएन भन्नुभएको छ ।