काठमाडौं, २६ मंसिर । बाँकेको नेपालगञ्जका अधिकांश टुर्स एण्ड ट्राभल्सहरु इजाजतबिना सञ्चालन भएको पाइएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरले नेपालगञ्जमा हिजो गरेको अनुगमनका क्रममा यहाँका सातवटा टुर्स एण्ड ट्राभल्सहरु त्यसरी सञ्चालन भएको पाइएको हो । खासगरी नेपालगञ्ज क्षेत्रका १५ वटा टुर्स एण्ड ट्राभल्समा अनुगमनगर्दा केदारनाथ टुर्स एण्ड ट्राभल्स, बद्रीनाथ टुर्स एण्ड ट्राभल्स, दुर्गेश्वरी ट्राभल्स प्रालिलगायत इजाजतबिना सञ्चालन भएको पाइएको पर्यटन डिभिजन कार्यालयका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभएको थियो । नेपालगञ्जका बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा आसपासका टुर्स एण्ड ट्राभल्सको अनुगमन गरिएको थियो । अनुगमनकाक्रममा पुष्पलाल चोक क्षेत्रका टुर्स एण्ड ट्राभल्सले प्राइभेट लिमिटेडकोमात्र प्रमाणपत्र लिएर व्यवसाय सञ्चालन गरेको पाइएको छ ।
टुर्स एण्ड ट्राभल्स ब्यवसाय सञ्चालनगर्दा अनिवार्य रुपमा पर्यटन कार्यालयबाट इजाजत लिनुपर्दछ । तर, पुष्पलाल चोक क्षेत्रका सबैजसो टुर्स एण्ड ट्राभल्सले कम्पनी दर्ताको मात्र प्रमाणपत्र लिएको पाइएको पर्यटन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले धेरैजसोले सम्बन्धित निकायबाट अनुमति नलिएर व्यवसाय सञ्चालन गरेका छन् भन्नुभयो । पाण्डेले प्रक्रिया र विधि नपुगेका टुर्स एण्ड ट्राभल्सलाई दर्ता र इजाजत प्रक्रिया पूरागरेर मात्र व्यवसाय सञ्चालन गर्न सचेत बनाइएको बताउनुभयो । कैफियत भेटिएका टुर्स एण्ड ट्राभल्सलाई दुई महिनाको समय दिइएको छ । अधिकृत चौधरीका अनुसार टुर्स एण्ड ट्राभल्सले व्यवसाय सञ्चालनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेपछि आन्तरिक राजस्व कार्यालयबाट पाननम्बर लिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनुपर्दछ । पुष्पलाल चोक क्षेत्रमा होटलहोटलमा अनधिकृत रुपमा जथाभावी साइनबोर्ड राखेर भद्रगोल रुपमा व्यवसाय सञ्चालन गरेको पाइएको चौधरीको भनाइ छ ।
उद्योग ऐनअनुसार ग्राहकलाई झुक्याउने गरी जथाभावी साइनबोर्ड राख्न नपाइने घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका निमित्त कार्यालय प्रमुख मोहन घर्तीमगरले बताउनुभयो । एयरलाइन्सहरुले दर्ता र इजाजत प्रक्रिया पूरा नगरेका वा अद्यावधिक नभएका टुर्स एण्ड ट्राभल्सलाई समेत टिकट काट्ने पोर्टल उपलब्ध गराएको गुनासो पनि व्यवसायीले गरेको नाट्टा बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीले बताउनुभयो । पर्यटन डिभिजन कार्यालयका निमित्त प्रमुख पाण्डेले पहिलो चरणमा सचेत गराइएको जानकारीदिँदै अटेर गरे कारवाही प्रक्रिया अघिबढाइने उल्लेख गर्नुभएको थियो । रासस