काठमाडौं, २७ मंसिर । नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगको टोलीले गत मंसिर दुईगते दुवैजनालाई एकलाख घुुस÷रिसवतसहित पक्राउ गरेको थियो ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले अनुसन्धानको सिलसिलामा नापी कार्यालयका सर्वेक्षक राउत र कार्यालय सहयोगी उपाध्याय समेतको आपसी मिलेमतोमा तथा योजनामा वीरगञ्ज महानगर–२५ स्थित कित्ता नम्बर ५५ क्षेत्रफल ०००६४ वर्गमिटर जग्गा छुट जग्गा दर्ता गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख घुस मागगरी लिएको स्थापित भएकोभन्दै भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरेको जानकारी दिनुभएको छ । आयोगले दुवैजनालाई भ्रष्टाचार निवारण ऐन–०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एकलाख कायम गरी भ्रष्टाचार निवारण ऐन–०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी गरेको थाहा भएको छ ।