
काठमाडौं, २७ मंसिर । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जेनजीको नाममा नेपालमा विध्वंशकारी गतिविधि बढेको खुलाशा गर्नुभएको छ । उहाँले वैदेशिक चलखेलका कारण त्यस्ता गतिविधि बढ्दै गएको पनि बताउनुभयो । प्युठानमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सिंहले उपरोक्त कुरा बताउनु भएको हो । महामन्त्री सिंहले नेपालका कैयौँ आन्दोलन र परिवर्तनमा युवाविद्यार्थीको ठूलो भूमिका रहँदैआएको वास्तविक हो । तर अहिले जेनजीको नाममा विदेशी चलखेल ठूलो छ।
वैदेशिक घुसपैठ र चलखेलका कारण देशले मानवीय तथा आर्थिक क्षति ब्यहोर्नुपरेको बताउनुभएको थियो । उहाँले ठूला राजनैतिक दलको कारण देशमा वैदेशिक चलखेल बढेको खुलाशा पनि गर्नुभएको थियो । अमेरिकी तथा भारतीय साम्राज्यवादको डिजाइनमा देशमा संकट बढेको सिंहको भनाई थियो । उहाँले आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगर्ने बताउनुभएको थियो । प्रगतिशील पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष तथा प्युठान जिल्ला अध्यक्ष प्रज्ज्वल पहाडीको अध्यक्षतामा भएको उक्त पत्रकार भेटघाटमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्का, राजमोका नेता सुरेश थापा र बासुदेव पोख्रेल, नेकपा (मसाल) का प्युठानका प्रवक्ता राम पहाडी लगायतको उपस्थिति रहेको थियो ।