
काठमाडौं, २ पुस । सरकार र नागरिक बचाउ महाअभियानबीचको हिजो रहस्यमय वार्ता भएको थाहाभएको छ । सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिबीचको हिजोको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सरकारी पक्षको दाबि छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएराति सम्पन्न वार्ता फलदायी भएको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभएको हो । उहाँले सरकार र नागरिक बचाउ महाअभियानबीचको सौहार्दपूर्ण वातावरणमा सकारात्मक कुराकानी भएको छ । दुवैतर्फबाट आआफ्ना कुराकानी सौहार्दपूर्ण ढंगले राखियो ।
आन्तरिक गृहकार्यगर्दै यसलाई निरन्तरता दिने र सम्बोधनगर्दै जाने प्रारम्भिक समझदारी बनेको छ भन्नुभयो । अभियानका प्रतिनिधि प्रेमदीप लिम्बूले वार्तामा सकारात्मक र सौहार्दपूर्णरुपमा कुराकानी भएको बताउनुभएको छ । आन्तरिक गृहकार्य गरेर चरणद्ध वार्ता र संवादका माध्यमबाट महाअभियानले उठाएका मागको समाधान गरेर अगाडि बढ्ने सहमति भएको उहाँले जानकारी दिनुभएको छ । वार्तामा सरकारकातर्फबाट सञ्चारमन्त्री खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना तथा नागरिक बचाउ अभियान लिम्बूको नेतृत्वमा देवीप्रसाद संग्रौला र प्रेम थापामगर सहभागी हुनुहुन्थ्यो ।
अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गर्नुभएको हो । हिजोको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग संभवत आज वार्तागर्ने जनाइएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहनुभएको छ । राजनीतिक दल र बिभिन्न पक्षसँग वार्तागर्न उक्त समितिअन्तर्गत सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ । नागरिक बचाउ महाअभियानका नेता दुर्गा प्रशाइँले बारम्बार दिल्ली भ्रमण गरिरहनु भएको छभने भारतीय पक्षकाहरुले जनमत संग्रह गराउने कुरामा जोड दिने गरेका छन् ।