काठमाडौं, ५ पुस । त्रिभुवन विश्वबिद्यालयको ५१ औँ दीक्षान्त समारोह नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा हुनेभएको छ । विश्वबिद्यालयद्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार यही पुस १० गते दशरथ रंगशालामा हुने समारोहमा नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथिकारुपमा सहभागी हुनुहुने भएको हो । उहाँले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्नुभएको थियो । त्रिवि उपकुलपति प्रा डा दीपक अर्यालले नोबेल पुरस्कार विजेताको सहभागिताले विश्वबिद्यालयको अन्तरराष्ट्रिय गरिमा बढ्ने बताउनुभएको थियो । सम्मेलनमा यसपटकको दीक्षान्त समारोहमा कुल १६ हजार ३०० भन्दा बढी बिद्यार्थी र तिनका अभिभावकसहित ४१ हजार सहभागी हुनेछन् ।
विश्वबिद्यालयबाट स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य र बिद्यावारिधि तहसमेतगरी ८९ हजार १९१ बिद्यार्थी उत्तीर्ण भएका थिए । यसमध्ये १६ हजार ३८० बिद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए । दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं विश्वबिद्यालयकी कुलपति सुशीला कार्कीले गर्नुहुने जानकारी पनि कार्यक्रममा दिइएको थियो । त्यसैगरी शिक्षामन्त्री एवं सहकुलपति महावीर पुन दीक्षान्त समारोहको विशेष अतिथिकारुपमा र ५२ जना त्रिवि सभासदहरु दीक्षान्त पोशाक (गाउन) सहित उपस्थित हुनेछन् ।
कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हाशिलगर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउनेछन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१ व्यवस्थापनका ४३ हजार ६१०, कानून संकाय दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका थिए ।