काठमाडौं,६ पुस । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरि पुस्करले सरकारले प्रवासी श्रमिकको हक, अधिकारका लागि काम गरिरहेको बताउनुभएको छ । नेपाल ट्रेड यूनियन कांग्रेस र वैदेशिक रोजगार विभागले विश्व आप्रवासन दिवसका अवसरमा हिजो आयोजना गरेको पदयात्रा तथा सडक संवाद कार्यक्रममा उहाँले सरकारले सकारात्मक योजनासहित प्रवासी श्रमिकको हकअधिकारका लागि नीतिगत काम गरिरहेको बताउनुभयो । उहाँले श्रमिकलाई मर्यादित र सुरक्षित रोजगारीका लागि सरकारले नीतिगत रुपमा सुधारका काम गरिरहेको उल्लेख गर्नुभयो । सचिव डा पुस्करले वैदेशिक रोजगारमा जाने श्रमिकहरु गन्तव्य मुलुकमा जाँदा ठगिन नपरोस् भन्नेमा मन्त्रालय सधँै सचेत रहेको स्पष्ट पार्नुभयो । नेपाल ट्रेड यूनियन कांगे्रसका अध्यक्ष योगेन्द्रकुमार कँुवरले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि स्वास्थ्य चेकजाँचमा शुल्क बढाएकोप्रति आपत्ति जनाउनुभएको थियो ।
आप्रवासी श्रमिकहरुको अधिकारका लागि संस्थाले प्रत्येक वर्ष यस्ता कार्यक्रम गर्दै आइरहेको उहाँको भनाइ छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उपे्रती, सार्क ट्रेड यूनियनका महासचिव लक्ष्मण बस्नेतलगायतले प्रवासी श्रमिकका अधिकारको रक्षाका लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो । वैदेशिक रोजगार विभागका प्रमुख एवं नेपाल ट्रेड यूनियन कांग्रेसका महासचिव अजयकुमार राईले आप्रवासी श्रमिकको हक र अधिकारका लागि ट्रेड यूनियन कांग्रेस सधँै प्रतिबद्ध रहेको बताउनुभएको थियो । करिब ७६ लाख नेपाली आप्रवासी श्रमिकका रुपमा कार्यरत रहेका जनाउँदै उहाँले नेपालको अर्थतन्त्रमा करिब ३० प्रतिशत उहाँहरुको योगदान रहेको उल्लेख गर्नुभएको थियो । रासस