काठमाडौं,७ पुस । कैलालीको चुरे–४, बालुवागडा नजिकैको जंगलमा नवलसिंह घर्ती र उहाँका परिवार विगत तीन बर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउँका घर्तीको परिवारलाई केही बर्ष पहिलेको भीषण पहिरोले विस्थापित बनाएपछि उनीहरुले जग्गा भाडामा लिएर घर बनाएका थिए । तर जग्गाधनीले बिचैमा जग्गा नदिने भएपछि उनीहरु त्यहाँबाट पनि विस्थापित भए । नवलसिंहले विगत सम्झिँदै भन्नुभयो–त्यसपछि हामी चुरे–४ कै टाँकगडा जंगलको बीचमा बस्न थाल्यौँ । त्यहाँ धेरै परिवार थियौँ । वन अतिक्रमण गरेको भन्दै त्यहाँबाट पनि हामीलाई हटाएपछि हाम्रो कतै जाने ठाउँ थिएन । अनि यही जंगलको छेउमा ओत लाग्न आइपुग्यौँ । सोही स्थानमा बस्दै आउनुभएका अर्का रतन नाथको पीडा पनि उस्तै छ । डडेल्लधुरा पुख्र्यौली घर भएका रतनले सानैमा अभिभावक गुमाएपछि रोजगारीका लागि भारततिर जानुभयो । भारतमै हुँदा गाउँमा नापी टोली आएछ । आफन्तले रतनको नाममा हुनुपर्ने जग्गा आफ्नै नाममा नाप्न लगाएछन् । उहाँले बुवाआमा सानैमा बितेका थिए, म परदेशमा थिएँ भन्नुभयो। आफन्तले हाम्रो सबै जमिन आफ्नो नाममा नापी गराइ दिएछन् । म फर्किँदा मेरो टेक्ने जमिनसम्म थिएन । ०६० सालमा डडेल्लधुरा छाडेर चुरे–४ स्थित गुठीको जमिनमा बसोबास गरेपनि त्यहाँबाट उठाइएपछि अहिले यहाँ आएर बसोबास गरिरहेको उहाँले बताउनुभयो । रतनको परिवार स्थानीय सूर्यमुखी आधारभूत विद्यालयको जंगल छेउको खेलमैदानमा पालमुनी बस्दै आएको छ । रतन यो हाम्रो इच्छा होइन, बाध्यता हो । यहाँबाट स्कुलले खेलकुद मैदान खाली गर्दिनु भनिरहेको छ, अब कता जाने थाहा छैन भन्नुहुन्छ ।
त्रिपालमुनिको जोखिमपूर्ण जीवन
हाल बालुवागडा क्षेत्रमा १५ भन्दा बढी परिवार अस्थायी टहरामा बसिरहेका छन् । तीमध्ये केही परिवारका अभिभावकहरु रोजगारीको खोजीमा भारत गएकाले घरमा बालबालिका मात्रै छन् । घरबार गुमाएर जंगलको बसोबास गरिरहेका उनीहरुको जीवन कष्टकर छ । पालमा बालबालिकाहरुले जाडो धान्नै कठिन छ । स्थानीय कलि नाथका अनुसार वर्षायाममा पानी चुहिएर रासन, लत्ताकपडा सबै भिज्छ । उहाँ पानी पर्दा टहराभित्रै भेल पस्छ । रातभरि बिच्छी र कीरा–काटीको डर हुन्छ । कति पटक त बिच्छीले टोकेर उपचारका लागि दौडिनु परेको छ । तर जाने ठाउँ कतै नभएपछि यही मृत्युसँग जुधेर बस्नुपर्ने अवस्था छ भन्नुहुन्छ ।
गिट्टी कुटेर जीविका
त्यहाँका महिलाहरुको दिनचर्या बालुवा खोलामा बित्छ । खोलामा संकलन गरिएको गिट्टी नै उनीहरुको आम्दानीको श्रोत हो । स्थानीय बुदीसरा सिंजाली अहिले छोराछोरीको परीक्षा आइरहेको छ । गिट्टी बेचेर आएको पैसाले परीक्षा शुल्क तिर्ने योजना छ । बुदीसराझैँ अन्य महिलाहरुको पनि मुख्य आम्दानीको श्रोत गिट्टी नै हो । प्रति घनमिटर एकहजार ५०० रुपैयाँमा बिक्री हुने गिट्टीबाट आउने पैसाले उनीहरुको घरको नुन–तेल चल्छ । सो क्षेत्रमामात्रै होइन चुरेको विभिन्न स्थानमा बसोबास गरिरहेका घरबारबिहीन परीवारको अवस्था समान छ । वैकल्पिक बसोबासको व्यवस्था नहुँदा पीडितहरु हाल बसिरहेको स्थानमै बस्नुपर्ने बाध्यता रहेको चुरे–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने मगरले बताउनुभयो । उहाँका अनुसार २०७७ सालमा आएको बाढीलगायत अन्य कारणले बिस्थापित ११६ परीवार चुरे–४ को पनेरुगडा, टाँकगडा, बालुवागडा र चुरे–१ को खामाहाले, खानीडाँडालगायतका क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । शुरुमा घरबारबिहीन भन्दै वन क्षेत्रमा करिब सात सय परिवार बसेका थिए । गाउँपालिकाले छानबिनगर्दा ११६ परिवार मात्रै पूर्णरुपमा घरबारविहीन पाइयो । उनीहरुलाई वन क्षेत्र अतिक्रमण गरेकोभनी ०७९ सालमा वन कार्यालयले हटायो । गाउँपालिकाले गरेको छानबिनअनुसार हाल वास्तविक पीडितहरु नै जंगल क्षेत्रमा बसोबास गरिरहेका छन् । वडाध्यक्ष मगर विस्थापितहरुको समस्या वास्तवमै गम्भीर छ । तर स्थानीय तहसँग उनीहरुलाई तत्काल व्यवस्थापनगर्ने आफ्नै जमिन छैन । वन क्षेत्रबाट वन कार्यालयले हटाउन खोज्छ, यता उनीहरुको जाने ठाउँ छैन । यही कारणले उनीहरु जोखिमपूर्ण अवस्थामा छन् भन्नुहुन्छ । चुरेका यी विस्थापित परिवारहरु सरकारले सुरक्षित घरबास उपलब्ध गराउला किभन्ने आशामा वर्षौँदेखि छन् । यही राज्यका नागरिक भएकाले पनि सरकारले अभिभावकको भूमिका निर्वाह गरोस्भन्ने उनीहरुको चाहना छ । रासस