
काठमाडौं,८ पुस । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले नेपालमा सिद्धान्तहीन गठबन्धनले देशमा अस्थिरता बढाएको दाबि गर्नुभएको छ । हिजो सिंहदरबारमा भएको सर्वदलीय बैठकमा उहाँले सिद्धान्तहीन गठबन्धनले देशमा भ्रष्टाचार बढेको भन्दै पद नपाएसम्म इमानको कुरागर्ने पाएपछि बेइमानगर्ने राजनीतिले जनतालाई धोका भएको बताउनुभएको थियो । उहाँले धेरै पटक प्रधानमन्त्री र मन्त्री हँुदैमा त्यो जनताको नहुने रहेछभन्ने कुरा देखापरेको भन्दै यस विषयतर्फ सबै सचेत हुन आवश्यक रहेको बताउनु भएको थियो ।
उहाँले राणा शासन त्यति लामोहुँदा पनि जनताले नरुचाएको प्रशंग पनि उठाउनु भएको थियो । उहाँले दलको नाम मात्र फरक छ तर सरकारमा गएर गर्ने काम एउटै छ । केही फरक छैन् भन्नुभएको थियो । गत भदौ २३ र २४ को घटनाले सरकारहरुले समयमा देश र जनताको समस्या समाधानगर्न नसकेको कुरा देखिएको बताउँदै राजनीतिक दलको उद्देश्य देश र जनताको निःस्वार्थ सेवा हो र यो कुरा दलको विधानमा उल्लेख हुनुपर्ने उहाँको भनाई थियो ।