काठमाडौं,१० पुस । अस्पतालको भुक्तानी रोकिँदा उपचार सेवा प्रभावित भएको थाहाभएको छ । प्राप्त समाचारअनुसार रुपन्देहीको बुटवलमा सामुदायिकस्तरमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल आर्थिक संकटमा पर्दैगएपछि विपन्न नागरिक औषधि उपचार कार्यक्रम रोक्नुपर्ने अवस्था आएको जनाएको छ । सरकारबाट नियमितरुपमा प्रदान गर्नुपर्ने विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गतको रकम रोकिँदा अस्पतालमा औषधि र उपकरणको आयात रोकिएको, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको तलब भुक्तानीमा समस्या थपिएको जनाउँदै विपन्न नागरिक औषधि उपचार सेवा रोक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ । अस्पतालले बुटवलमा पत्रकार सम्मेलनगरी सरकारबाट पाउनुपर्ने रकम पुस मसान्तसम्म प्राप्त नभएमा माघ एक गतेदेखि मुटु उपचारका लागि प्रदानगर्दै आएको एक लाखसम्मको उपचार सेवा र मिर्गौलाका बिरामीको निःशुल्क डायलाइसिस सेवा बन्दगर्न बाध्य हुने जनाएको छ । स्वस्थ मुटु हाम्रो अभियानभन्ने मूल नाराकासाथ ०७० सालदेखि सामुदायिकस्तरबाट सञ्चालनमा आएको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल चालु आर्थिक बर्षमा आइपुग्दा अस्पतालले मुटु र मिर्गौलाका बिरामीको उपचार गरेबापत सरकारबाट १७ करोड ८१ लाख नौहजार ३७९ भुक्तानी नपाउँदा अस्पताल आर्थिक संकटमागरी अन्य उपचार सेवासमेत प्रभावित हुने अवस्था सिर्जना भएको जनाइएको छ ।

चालु आर्थिक बर्षसम्ममा मुटु तथा मिर्गौलाका बिरामीको उपचारबापत नेपाल सरकारले प्रदानगर्ने रकम २० करोड ३९ लाख ३१ हजार ८७९ रहेको हालै दुई करोड ५८ लाख २२ हजार ५०० मात्र प्राप्त गरेपछि अस्पतालले बिरामीको उपचार गरिरहेको तर सरकारबाट थप भुक्तानीमा चासो नदिएकाले सेवा प्रभावित हुने अवस्था आएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनुभयो । सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत मुटु रोगीका लागि क्याथ ल्याबबाट सेवा लिँदा रु एक लाख तथा मिर्गौलाका बिरामीको डायलाइसिस निःशुल्क गर्दै आएको अध्यक्ष आलमले बताउनुभयो । सरकारको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत चालु आर्थिक बर्षमामात्रै एक हजार ३८४ जना मुटुका बिरामीलाई चार करोड ६४ लाख ८९ हजार १४ बराबरको उपचार सेवा यस अस्पतालमार्फत प्रदान गरिएको छ । त्यसैगरी, मिर्गौला बिरामीको डायलाइसिसका लागि सरकारबाट प्रतिसेसन दुई हजार ५०० प्राप्त हुँदैआएकामा यसबर्ष १३ करोड ९४ लाख ६५ हजार बराबरको ५५१ जनाको निःशुल्क डायलाइसिस गरिएको छ । मुटु र मिर्गौलाका बिरामीकोगरी चालु बर्षमामात्रै १८ करोड ५९ लाख ५४ हजार १४ बराबरको उपचार सेवा प्रदान गरिएको अध्यक्ष आलमले बताउनुभयो । मुटुको सामान्य उपचारबाट शुरु गरिएको यस अस्पतालमा ०७३ सालमा सञ्चालन गरिएको क्याथ ल्याबबाटमात्रै एन्जियोग्राफी, एन्जियोप्लाष्ट, अस्थायी पेसमेकर, स्थायी पेसमेकर, पेरिकार्डियो सेन्टिसिस, राइट हार्ट क्याथेटराजेसन र पिटिएसीगरी छहजार ५६९ जनाले सेवा प्राप्तगरेको अस्पतालले तथ्यांक सार्वजनिक गरेको छ ।

त्यस्तै ०७२ देखि शुरुगरिएको मिर्गौलाको उपचार सेवाबाट पनि बिरामीले हालसम्म तीन लाख ३३ हजार ७२१ सेसन निःशुल्क डायलाइसिस सेवा प्राप्तगरेको अस्पतालको तथ्यांक छ । मिर्गौलाका बिरामीहरुको चाप अत्यधिक बढ्दै जान थालेपछि सेवा विस्तारगर्दै अस्पतालले बुटवलसँगै दाङ जिल्लाको लमही, पाल्पा जिल्लाको तानसेन, स्याङ्जा जिल्लाको वालिङ र कपिलवस्तुको वाणगंगामा डायलाइसिस सेन्टर स्थापनागरी सेवा प्रदानगर्दै आएकोभने केही समयमै नवलपरासीको सुनवलमा पनि डायलाइसिस सेन्टर शीघ्र सञ्चालनको तयारीमा रहेको छ । अस्पतालले सञ्चालन गरेका डायलाइसिस सेन्टरमध्ये बुटवलबाट ३११ जना, लमहीबाट ५७ जना, पाल्पाबाट ५९ जना, वालिङबाट ६७ र कपिलवस्तुबाट ५७ गरी ५५१ जना मिर्गाैलाका बिरामीले नियमित रुपमा निःशुल्क डायलाइसिस गराउँदै सेवा लिँदैआएको अध्यक्ष आलमले बताउनुभयो । रुपन्देही उद्योग संघको संरक्षकत्वमा सञ्चालित यस अस्पतालमा यस क्षेत्रका उद्योगी व्यवसायी, बिभिन्न रोटरी र रोट्याक्ट क्लबहरु, समाजसेवीलगायतको आर्थिक, भौतिक तथा नैतिक सहयोग रहेको छ । लुम्बिनी प्रदेशका मात्र नभई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ४२ जिल्लाका नागरिकलाई यस अस्पतालले प्रत्यक्ष स्वास्थ्य उपचार सेवा प्रदानगर्दै आइरहेको जनाएको छ ।

स्थापनाको १२ बर्षसम्म आइपुग्दा अस्पतालबाट मुटु, मिर्गौला तथा जनरल फिजिसियनकागरी पाँच लाखभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदानगरिएको छ । अस्पतालमा हाल ३३० जनाले प्रत्यक्ष रोजगारी पाएको र मासिक एक करोड ५० लाखभन्दा बढी तलब सुविधामा मात्र खर्च हुनेगरेको छ । गैरनाफामुखी स्वास्थ्य संस्थाका रुपमा स्थापना भएको यो अस्पतालको जग्गा प्राप्तिको ढिलाइले आफ्नै भवनसमेत नहुँदा भाडाको भवनमा सेवा सञ्चालन गर्नुपरेको थप आर्थिक व्ययभारसँगै बिचामीको चापसमेत खेप्नुपरेको अध्यक्ष आलमले बताउनुभएको छ । रासस