
काठमाडौं, १३ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्दैछ । नेपाली कांग्रेसमा नेताहरुमाथिको कारवाही फिर्ता गरिएको थाहाभएको छ । प्राप्त समाचारअनुसार नेपाली कांग्रेसले विगतका निर्वाचनमा पार्टीका नेतालाई असहयोगगर्ने पार्टी हितविपरीत लागेका नेता तथा कार्यकर्तालाई कारबाही मिनाहागरी क्रियाशील सदस्य नवीकरणगर्ने निर्णय गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाही फुकुवागरी क्रियाशील सदस्यता नवीकरणगर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा वर्तमान विकसित राजनीतिक अवस्था, आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई मध्यनजर गरी पार्टीलाई सुसंगठित बनाउँदै बृहत् एकता कायमगर्दै समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई आत्मसाथगरी आगामी दिनमा पार्टी हितविपरीत हुनेगरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै यस्तो निर्णय गरिएको भनिएको छ ।
त्यस्तै, विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकालाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरुको बाँकी अवधि माफी÷मिनाहा गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले विगतमा बिभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरुलाई पनि पार्टीमा फर्कनका आह्वान गरेको छ । त्यसरी फर्किने व्यक्तिलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।
यसैगरी बिभिन्न पेसा, व्यवसाय र विविध क्षेत्रमा रही राष्ट्र र जनताको सेवामा समर्पित लोकतान्त्रिक विचार र आस्था भएका व्यक्तिलाई कांग्रेसमा सक्रिय भूमिका निर्वाहगर्न आह्वान गरिएको छ । कांग्रेसले वर्तमान परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्यगरेर अघिबढ्ने निर्णयसमेत गरेको मुख्यसचिव पौडेलले उल्लेख गर्नुभएको छ । बैठकले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत अगाडि बढाएको छ ।