काठमाडौं, २१ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल आज भारतको नयाँदिल्लीमा ब्यस्त रहनुहुने भएको छ । उहाँ नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन गएराति त्यहाँ पुग्नुभएको हो । नेपाली समाज भारतको आयोजनामा आज सोमबार हुने उक्त कार्यक्रममा उहाँ सहभागी हुने संयोजक दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिनुभएको छ ।

संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरकासाथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदानगर्ने सचिवालयले जनाएको छ । दाहाल आजै साँझ नेपाल फर्कने कार्यक्रम छ । उहाँले केही भारतीय अधिकारीहरुसँग हिजो राति र आज बिहान छलफल गर्नुभएको भनिए पनि त्यसको बिवरण प्राप्त भएको छैन । यसअघि पूर्ब माओवादी नेता डा. बाबुराम भट्टराई पनि अकस्मात दिल्ली पुगेर काठमाडौं फर्केपछि बालेन, रवि र कुलमानहरुलाई मिलाउने प्रयासमा सक्रिय हुनुभएको थियो ।