काठमाडौं, ४ माघ । नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुंगो लागेकोे पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिनुभयो । उहाँकाअनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तयभएको छ ।
त्यस्तै कञ्चनपुर निर्वाचन–१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा डा भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुंगो लागेको पनि बुढाले बताउनुभयो । त्यसैगरी डोटीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुंगो लागेको उहाँले जानकारी दिनुभयो ।
कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुंगो लाग्ने नेता बुढाले बताउनुभयो । उहाँले कैलाली क्षेत्र नं २ मा नन्दबहादुर साउद र क्षेत्र नं ५ मा प्रेमबहादुर आलेले टिकट पाउने सम्भावना रहेको बताउनु भएको छ ।