काठमाडौैं, १४ माघ । नेपाली कांग्रेसको गगन थापा समूहले अब बन्ने आफ्नो समूहको चुनावी घोषणापत्रमा सुशासन र विकासमा जोड दिने भएको छ । जसलाई आगामी निर्वाचनका लागि सार्वजनिकगर्ने घोषणापत्रमा भिजन–१० समेटिने भएको हो । प्रतिनिधिसभा निर्वाचन–०८२ को सन्दर्भमा जानकारी दिन हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रणगर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई मुख्य आधार बनाउने बताउनुभएको थियो । उहाँकाअनुसार कांग्रेसको घोषणापत्र केवल आक्यांक्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयनगर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रुपमा उल्लेख गरिनेछ । उहाँले घोषणापत्रमा स्रोत व्यवस्थापनका उपाय पनि समेटिन्छन् । हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको छ भन्नुभएको थियो ।

स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उहाँको भनाइ छ । प्रवक्ता चालिसेले कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयनयोग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ । घोषणापत्रमार्फत हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गरिने छ भन्नुभएको थियो । उहाँकाअनुसार कांग्रेसको घोषणापत्रले वर्तमान चुनौती र भविष्यको दिशालाई एकैसाथ सम्बोधनगर्दै विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ । पार्टीले घोषणापत्रमार्फत स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका जनतासामु राख्ने तयारी गरेको छ । प्रवक्ता चालिसेले पार्टीले चुनाव प्रचारप्रसारलाई मितव्यी र मर्यादित बनाउने बताउनुभएको छ । उहाँले निर्वाचन प्रचारप्रसारका क्रममा निर्वाचन आयोगको आचारसंहितालाई पूर्णरुपमा पालना गरिने बताउनुभयो ।

उहाँले गलत संस्कृतिको विकास नहोस् र प्रतिस्पर्धा मर्यादित रहोस् भन्ने उद्देश्यले पार्टीले आन्तरिकरुपमा थप आचारसंहिता निर्माणगरी मातहतका निकायहरुलाई कड्याइकासाथ पालनागर्न निर्देशन दिएको छ, प्रचारका दौरान पार्टीका नीति, योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिई जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ । कुनैपनि प्रतिपक्षी उम्मेदवारको व्यक्तिगत जीवनमा प्रवेश नगर्ने, मानव स्वतन्त्रताको सम्मानगर्ने हाम्रो नीति रहेको छ भन्नुभएको थियो । कांग्रेसले समकालीन राजनीतिक, वैचारिक, नीतिगत तथा समसामयिक विषयमा प्रत्येक दुईदिनमा डबली संवाद कार्यक्रम सञ्चालनगर्ने जनाइएको छ ।