काठमाडौं,१ चैत । काठमाडौं महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही गरिने जनाएको छ ।ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने, अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने, इन्धन डिपोहरुमा तेल मौज्दात हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको कामपाका प्रशासन विभागका प्रमुख महेश काफ्लेले जानकारी दिनुभउको छ । काफ्लेले ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य बढी लिने तथा सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ ।
नेपाल आयल निगमले ग्यासको मूल्य आधा सिलिन्डर ९५५ रुपैयाँ तोकेको छ । यही मूल्यमा खरिदबिक्री गर्न व्यवसायी र उपभोक्तामा हाम्रो अनुरोध छ भन्नुभएको छ । ग्यास अभाव हुने आशंककामा उपभोक्ताले बढी भण्डारणगर्ने गरेकाले पनि बजारमा अभाव देखिएको उहाँको भनाइ छ । यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ । काफ्लेले उपभोक्ताले पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ । सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ । आआफ्ना दायित्व सबैले पूरा गनुपर्छ भन्नुभएको छ । पेट्रोल पम्पहरुले पनि आफूसँग मौज्दात इन्धन भएर पनि छैन भनी सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाइएको जनाउँदै उहाँले यसमा महानगरले निगरानी थालेको बताउनुभएको छ । ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका ‘हटलाइन नम्बर’ ११८० मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ । यसरी प्राप्त विवरणका आधारमा कामपाले निगरानी गर्नेछ ।
स बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालकाअनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ । उहाँले सञ्चितिका लागि माग नगर्न उपभोक्तासँग आग्रह गर्नुभयो । त्यसैगरी नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिदगर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरुलाई घरायसी प्रयोजनका लागि प्रयोगगर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमले विज्ञप्ति जारीगर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रुपमा असर परिरहेको भए पनि निगमले नियमित रुपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्रीवितरणको व्यवस्था मिलाइरहेको जनाएको छ ।