
कोलकाता, १० जेठ । अमेरिकी विदेशमन्त्री मार्को रुबियो हिजो शनिबार पहिलो पटक भारत भ्रमणमा आउनु भएको छ । चीनसँगको शिखर सम्मेलनको एक हप्तापछि उहाँ भारत आउनु भएको हो । रुबियोले भारतको कोलकाताबाट आफ्नो चार दिने, भारत भ्रमण शुरुगर्नु भएको छ । जहाँ उहाँले स्वर्गीय मदर टेरेसाको मिसनरीज अफ च्यारिटीको मुख्यालयको भ्रमणगर्ने कार्यक्रम तय भएको जनाइएको छ । सो कार्यक्रमपछि रुबियो नयाँ दिल्ली जाने र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने अमेरिकी विदेश विभागले जनाएको छ । रुबियोले क्वाडका लागि आएका–अष्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाका विदेश मन्त्रीहरुको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।
यसैबीच चीनलेभने लामो समयदेखि क्वाड माथि शंकागर्दै आएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले गत हप्ता चीनको राजकीय भ्रमणगर्नु भएको थियो । जहाँ उहाँले केहि घोषणा तथा सम्झौताहरुगर्नु भएको थियोभने राष्ट्रपति सी जिनपिङबाट प्राप्त स्वागतको प्रशंसा गर्नुभएको थियो । भारतसँग घनिष्ठ सम्बन्धको वकालत गरिरहेका रुबियोले पत्रकारहरुलाई यो भ्रमण आफ्नो जीवनको पहिलो भारत भ्रमण हुने बताउनु भएको छ । रुबियोसँग उहाँकी श्रीमती जेनेट पनि भारत भ्रमणमा आएको जनाइएको छभने उनीहरुले भारतको आगरामा प्रेमको विश्व प्रसिद्ध स्मारक ताजमहलको भ्रमणगर्ने कार्यक्रम तयभएको जनाइएको छ । रासस, एएफपी