काठमाडौं, १० जेठ । चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला सञ्चालनमा आएको थाहा भएको छ । ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको हो । फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन लामाकाअनुसार विगतमा ओलाङचुङ्गोलाका स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदैआएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै भन्सार कार्यालय पूर्णरुपमा बन्द गरिएकामा अहिले कर्मचारी व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । भन्सार कार्यालय सञ्चालनगर्नका लागि गत बिहीबार नायब सुब्बा प्रदीप धिताललाई प्रमुखका रुपमा तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको उहाँले बताउनुभएको छ ।

उहाँले नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । ओलाङचुङ्चुगोलाबाट २४ किलोमिटर दूरी पारगरी नेपाल–चीनको सीमा टिप्तालानाका पुग्न सकिन्छ भन्नुभयो । करिब ४० वर्षअघि निर्माण गरिएको मूलभन्सार कार्यालयको भवन अहिले जीर्ण अवस्थामा पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । वडाध्यक्ष लामाले आगामी आब ०८३÷८४ को बजेटमार्फत नयाँ भवन निर्माण तथा भन्सार कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री व्यवस्थापनगर्न अर्थमन्त्रालय र भन्सार विभागसँग अनुरोध गरिएको जानकारी दिनुभएको छ ।