काठमाडौं, १० जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेकोे हेटौँडा कपडा उद्योगको हिजो निरीक्षण गर्नुभएको छ । मन्त्री यादवले हेटौँडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरु तथा उपकरणहरुको वर्तमान अवस्थाका बारेमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिनुभएको थियो ।
मन्त्री यादवले सरकारले बन्द रहेकोे हेटौँडा कपडा उद्योग दीर्घकालीनरुपमा सञ्चालन गर्नेगरी आवश्यक स्रोतसाधन परिचालनगर्ने तयारी गरिरहेको सम्बन्धित सरोकारवाला पक्षहरुलाई जानकारी दिनुभएको थियो । उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उच्च अधिकृतहरु, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक सङ्गीता कुँवर तथा मकवानपुर क्षेत्र नं १ का सांसद प्रकाश गौतम पनि उपस्थित हुनुहुन्थ्यो । रासस