काठमाडौं, १० जेठ । छिमेकी भारतले नेपाली भूमी अतिक्रमण गर्नेक्रम जारीराखेको छ । तर नेपालको सरकारले कुनै प्रतिवाद गरेको छैन । प्राप्त समाचारअनुसार नेपालको भूमिमा पर्ने गुञ्जी क्षेत्रमा भारतले आफ्नो उपस्थिति बढाउँदै लगेको छ । दार्चुलाको उत्तरी त्रिदेशीय नेपाल–चीन–भारतको सीमानजिकै पर्ने नेपाली भूमि गुञ्जीमा सैनिक बिद्यालय स्थापना गरेर भारतले नेपाललाई चुनौती दिएको छ । गुञ्जी क्षेत्रमा भारतीय सेनाले आवासीय सुविधा सहितको बिद्यालय सञ्चालनमा ल्याएको थाहा भएको छ । भारतीय सञ्चारमाध्यम जागरण अनलाइनमा प्रकाशित समाचारअनुसार भारतको उत्तराखण्डस्थित पिथौरागढ प्रशासन र भारतीय सेनाले संयुक्तरुपमा बिद्यालय भवन उद्घाटन गरेका हुन् ।

भारतीय सेनाले अपरेशन सद्भावनाअन्तर्गत करिब ७२ लाख भारतीय रुपैयाँ खर्च गरेर कम्प्युटर ल्याब, बाल उद्यान (किड्स पार्क) लगायत सुविधा भएको आधुनिक बिद्यालय भवन निर्माण गरेको जनाइएको छ । सो बिद्यालय भवन गुञ्जी ग्राम सभालाई हस्तान्तरण गरिएको छभने प्रारम्भिक चरणमा भारतीय सेनालेनै नर्सरी कक्षाहरु सञ्चालन गर्ने भनिएको छ । भारतीय पक्षले गुञ्जी, नाबी, कुटी र नपलच्यू गाउँका बालबालिकालाई सो बिद्यालयमा भर्ना गरिने जनाएको छ । गुञ्जी क्षेत्र नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा समेटेको संवेदनशील भूमि हो । नेपाल सरकारले ०७७ सालमा सार्वजनिक गरेको नयाँ नक्सामा गुञ्जी, नाभी र कुटी गाउँलाई नेपालको दार्चुला जिल्लाअन्तर्गत समावेश गरेको थियो । ति क्षेत्र हाल भारतको प्रशासनिक नियन्त्रणमा रहेका छन् । भारतले सोही क्षेत्रहुँदै कैलास–मानसरोवर यात्राका लागि सडक निर्माण गरेपछि विवाद भएको थियो ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसहित गुञ्जीलाई आफ्नो अभिन्न भूभाग मानेको छ । भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार उद्घाटन कार्यक्रममा भारतीय सेनाका उच्च अधिकारी, धारचुलाका शिक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा पूर्व प्रहरी अधिकारी तथा हाल गुञ्जी ग्राम प्रधान रहेकी विमला गुंज्याल लगायत स्थानीय व्यक्तिहरु पनि उपस्थित थिए ।