
काठमाडौं, १० जेठ । नेपाली कांग्रेसमा गगन थापाको बिरोध बढ्दै गएको देखिएको छ । यसैक्रममा सो पार्टीका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस बृहत एकता र भावि कार्यदिशाको लागि गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई हिजो पोखरामा सम्बोधनगर्दै नेता कोइरालाले पार्टी बलियो भयोभने हामी बच्छौँ, पार्टी कमजोर भए हामी झनै कमजोर हुँदै जान्छौँ भन्नुभएको थियो । उहाँले मलाई कुनै पद चाहिँदैन पार्टी एक हुनुप¥यो, पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ । बिपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्रीको प्रस्ताव राख्नुभएको उदाहरणदिँदै नेता कोइरालाले गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुभएको टिप्पणी गर्नुभएको थियो ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पार्टीभित्र एकताको आवश्यकता महसुस भएको बताउँदै कांग्रेस नियमित महाधिवेशनको पक्षमा थियो एक्कासी विशेष महाधिवेशनगर्नु गलत भएको बताउनुभएको थियो । पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गर्नुभएको थियो ।