काठमाडौं, १० जेठ । एमाले बिभाजनबाट बालबाल बचेको छभने ओलीकै नेतृत्वमा पार्टी अगाडि बढ्ने भएको छ । केही नेताहरु इन्डो पश्चिमा शक्तिको नेपाल नीतिअनुसार पार्टीको महाधिवेशनबाट आएको नेतृत्व परिवर्तन गरेर पार्टीलाई तीनचिरा बनाउने अभियानमा जुटेका थिए । तर एमालेका अध्यक्ष केपी ओलीले आफू महाधिवेशनबाट बिधिवत निर्वाचित भएर आएकाले तत्काल राजीनामा नगर्ने बताउनु भएपछि पार्टी बिभाजन हुनबाट बचेको हो ।

पार्टीको नेतृत्व परिवर्तन गराएर एमाले बिभाजन गराउन लागि परेका केही नेताहरुमाथि कारवाहीसमेत हुनेभएको छ । एमालेको सचिवालय बैठकमा नेताहरुले बोल्नेक्रम जारीरहेको छ । पार्टी अध्यक्ष ओलीको निवास गुण्डुमा हिजो बसेको दोस्रो दिनको सचिवालय बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौजना नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो । पार्टीको आज आइतबार बस्ने बैठकमा बाँकी चारजना सचिवले आफ्नो धारणा राखेपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने भएको छ । यसैबीच एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

हिजो शनिवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरागर्दै भट्टले उपरोक्त कुरा बताउनुभएको हो । बैठकमा भएका छलफलका विषयमा जानकारीदिँदै उपमहासचिव भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरुलाई अतिरञ्जित संज्ञा दिनुभएको थियो । शनिवारको बैठकमा महासचिव, तीनजना उपमहासचिव र पाँचजना सचिवहरुले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवहरुका बारेमा धारणा राख्नुभएको थियो ।