काठमाडौं,२६ जेठ । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलबिद्युत आयोजना निर्माण शुरुभएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवद्र्धक रहेको आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा हिजो सोमबारदेखि बिष्फोटक पदार्थको प्रयोग गरि शुरुङ निर्माण थालेको हो । आयोजना निर्देशक रमण सिंहले आगामी चार वर्षमा सम्पन्नगर्ने लक्ष्य राखिएको आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित बिद्युतगृह निर्माणस्थलबाट गरि चार ठाउँबाट शुरुङ निर्माणको तयारी गरेको जानकारी दिनुभयो । उहाँले पाँच किलोमिटर ६०० मिटर लामो शुरुङ निर्माण हुनेछ । बिद्युतगृह र बाँध निर्माणस्थलमा सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालित भइसकेको छ भन्नुभयो । मुस्ताङको थासाङ–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा बिद्युतगृह निर्माणको तयारी भएको आयोजना प्रमुख सिंहले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको यस आयोजनाको एक किलोमिटर ‘पेनस्टक’ पाइपलाइन रहनेछ । बिद्युतगृहदेखि ‘आउटलेट’को उचाइ ४८० मिटर रहेको छ ।

प्रर्वद्धक कम्पनी, ठेकेदार र नेपाली सेनाको कार्यालय, आवास र बिष्फोटक पदार्थ भण्डारण भवन तयार हुने अन्तिम चरणमा पुगेको छ । आठ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजना स्थलमा पुग्न गाडपारमा बेलिब्रिज जडानको तयारी भएको छ । घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरेर कालीगण्डकी गर्जको विद्युत केन्द्रीय प्रणालीमा आबद्ध गराइने भएको छ । ४० अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमी बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताउनुभयो । प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर लगानीको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक कम्पनी, निर्माण कम्पनी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा धार्मिक विधिपूर्वक पूजाआजा गरेर आयोजना निर्माणको शुभारम्भ गरिएको थियो । वडाध्यक्ष फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लाको हालसम्मकै ठूलो जलबिद्युत  आयोजना भएको बताउनुभयो । उहाँकाअनुसार नारच्याङ भएर बग्ने नदीहरुमा १६२ मेगावाट क्षमताका पाँच वटा जलबिद्युत आयोजना निर्माण भएका छन् ।

पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि– १ ७१ मेगावाट क्षमताको नीलगिरि–२ र छ मेगावाट क्षमताको रेलेखोला जलबिद्युत आयोजना निर्माण सञ्चालनमा आइसकेका छन् । नारच्याङको सिमाना भएर बग्ने कालीगण्डकीमा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युुत् आयोजना निर्माणाधीन छ । नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलबिद्युत आयोजना निर्माण शुरुगर्ने तयारी गरेको छ । रासस