काठमाडौं,२६ जेठ । हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा आर्थिक संकटको सामनागर्नु परिरहेको छ । दीर्घकालीनरुपमा आर्थिक स्रोतको व्यवस्थापन नहुँदा समय सिमाभित्र कोइला खरिदगर्न तथा कर्मचारीलाई एक वर्षदेखि मासिक तलबभत्ता उपलब्ध गराउन समस्या भइरहेको हो । यसअघि उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्टको बोरा काठमाडौं, वीरगञ्ज, हेटौँडा, चितवनको नारायणगढ, पोखरा, धनगढी र विराटनगरमा बिक्री वितरण हुने गरेकामा हाल शून्य अवस्थामा पुगेकाले पनि आर्थिक संकट उत्पन्न भएको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक शिवनारायण साहले बताउनुभयो । उहाँले काठमाडौं, हेटौँडालगायत अन्य सहरमा थप सिमेन्ट बिक्रीगर्न सम्बन्धित डिलर, स्थानीय उपभोक्ता, विकास आयोजना प्रमुखसँग प्रत्यक्ष संवाद गरिरहेको जानकारी दिनुभयो । प्रत्येक बोरा सिमेन्टमा केही प्रतिशत मूल्य घटाइने पनि उहाँले उल्लेख गर्नुभयो । अहिले करिब ७०–७५ हजार बोरा सिमेन्ट प्याकिङ गरिएको उद्योगका प्रशासन महाशाखाका सहायक प्रबन्धक विकास श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार यहाँबाट उत्पादित प्रत्येक बोरा सिमेन्टको बजार मूल्य ७२४ पर्ने उहाँले बताउनुभयो । हेटौँडा, काठमाडौं, वीरगञ्ज, पोखरालगायत प्रमुख सहरमा नीजि क्षेत्रबाट उत्पादित सिमेन्टभन्दा यहाँबाट उत्पादित सिमेन्ट प्रतिबोरा रु ७० भन्दा बढी पर्ने गरेको नेपाल पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठले अनुभव सुनाउनुभयो । मूल्य बढी पर्ने भएकाले सिमेन्ट बिक्रीमा कमी आएको हुनसक्ने हेटौँडा उपमहापालिका–११ निवासी उपभोक्ता सीताराम बर्तौलाले बताउनुभयो । उद्योगका सबै कर्मचारीलाई प्रत्येक महिना सञ्चय कोष कट्टीसहित ९५ लाख ७० हजार रकम तलबभत्ताबापत वितरण गर्नुपर्ने जनाउँदै सहायक प्रबन्धक श्रेष्ठले रकम अभावले नियमित तलब दिन नसकिएको धारणा राख्नुभयो । सिमेन्ट स्थानीयमा बजार आपूर्तिगरी आएको रकमबाट पहिलो चरणमा कर्मचारीलाई तलबभत्ता वितरणगर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

दोस्रो चरणमा तीन हजार मेट्रिकटन कोइला खरिद गर्नेतर्फ पहल भइरहेको सहायक प्रबन्धक श्रेष्ठले राससलाई बताउनुभयो । उहाँका अनुसार भरपर्दो आर्थिक विकल्प नहुँदा कर्मचारीले एक वर्षदेखि नियमितरुपमा तलबभत्ता र औषधिउपचार खर्च पाएका छैनन् । उद्योगमा अहिले स्थायी सेवाअन्तर्गत १३४, करार तथा सुरक्षामा ५३ र ठेक्केदारमार्फत मजदुरीमा ७० जना कर्मचारी कार्यरत रहँदैआएका उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहे पनि विभिन्न उपकरण जीर्ण हुँदैजाँदा हाल दैनिक १२ हजार बोरामात्र सिमेन्ट उत्पादन भइरहेको सहायक प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । तत्कालीन श्री ५ को सरकारले ०३३ सालमा हेटौँडाको लामसुरेमा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरेको हो । उद्योगलाई तत्कालीन सरकारले एशियाली विकास बैंकको लागत सहयोगमा एक अर्ब ५० करोड लगानी गरेको थियो । रासस