काठमाडौं,२६ जेठ । नेपालका मेडिकल कलेजलाई बिस्थापित गराउने षडयन्त्र भैरहेको बताइएको छ । स्वीकृति पाएकोभन्दा बढी शैया थपेर सञ्चालन गरेको आरोप लगाउँदै मेडिकल कलेजमाथि सरकारले कारवाहीप्रक्रिया शुरु गरेपछि उपरोक्त अवस्था सिर्जना भएको हो । आफैँ शैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढी भएको रकम असुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको हो । मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब एक करोड ७८ लाख ४४ हजार बेरुजु रकम रहेकाले उक्त रकम उठाउने तायरी थालेको जनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका बेथितिहरु क्रमशः हटाउँदै जाने क्रममा पाँच वर्षअघिको बेरुजु असुल गर्नेगरी काम शुरु गरिएको बताउनुभएको छ ।

उहाँले बढी भएको रकम असुलीगर्ने कार्य शुरु भइसकेको जनाउँदै थप कलेजहरुका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको उल्लेख गर्नुभएको छ । उहाँले राजधानीसहित देशका विभिन्न भागमा सञ्चालित ११ वटा मेडिकल कलेजले स्वीकृति पाएभन्दा बढी शैया थपेर अतिरिक्त आम्दानी गरिरहेका छन् । तर कर तथा दस्तुरभने स्वीकृत शैया संख्या बराबरको मात्र बुझाउने गरेका छन् भन्नुभएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले करिब पाँच वर्षअघि मेडिकल कलेजको यो प्रवृत्तिबारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुुलउपर गर्नुपर्ने रकम उल्लेख गरेको थियो । सोही आधारमा स्वास्थ्य मन्त्रालयले थपिएका शैया संख्या बराबरको दस्तुरबापतको थप रकम बेरुजुका रुपमा संकलनगरी सञ्चित कोषमा दाखिलागर्न लागेको जनाएको छ । यसअघिका सरकारहरुले पनि मेडिकल कलेजमाथि कडा नीति लिँदा कतिपय कलेज बन्द भएका थिए ।