काठमाडौं,२६ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले हिजो संयुक्त अधिराज्य बेलायतका रक्षामन्त्री जोन हिली र भूतपूर्व सैनिक तथा जनशक्तिसम्बन्धी मन्त्री लुइस स्यान्डर–जोन्ससँग भर्चुअल बैठक गर्नुभएको छ । बैठक मुख्यतः बेलायती गोर्खाहरुका लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरु, समानुपातिक पेन्सनको मागलगायत विषयमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा मन्त्री खनालले नेपाल–बेलायत सम्बन्धमा बेलायती गोर्खाहरुको महत्वलाई प्रकाशपार्दै बेलायती गोर्खाहरुका गुनासाहरुको यथाशीघ्र आपसीरुपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।

साथै उहाँले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरु सम्बोधनगर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो । बैठकमा रक्षामन्त्री हिलीको तर्फबाट स्यान्डर–जोन्सले बेलायती गोर्खा भूतपूर्व सैनिकहरुका विषयहरु सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो । बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपालसम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष, साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु उपस्थिति रहेको मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा बेलायती गोर्खा संगठनहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । यसअघि आजै मन्त्री खनालले बेलायती गोर्खा भूतपूर्व सैनिकहरुका प्रतिनिधिहरुसँग भर्चुअल अन्तरक्रिया गर्नुभएको थियो । उक्त बैठकको समन्वय तथा सहजीकरण लण्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले गर्नुभएको थियो । रासस