काठमाडौं,२६ जेठ । नेपाली कांग्रेसमा क्रियाशील सदस्य घट्दै र नेताहरु बीचको बिवाद बढ्दै गएको देखिएको छ । क्रियाशील सदस्यता अद्यावधिकको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको जानकारहरुको भनाई छ । सो पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइलीकाअनुसार हिजो सोमबार साँझसम्म ५ लाख २ हजार ३८१ जनालेमात्र डिजिटल अद्यावधिक गरिसकेका छन् । १५औं महाधिवेशनको नेतृत्व संघर्षसँग जोडिएकाले सदस्यता विवाद थप चर्किने सम्भावना छ ।

वैशाख १ गतेदेखि शुरु भएको अभियानको समयसीमा आगामी २८ गतेसम्म छ । कांग्रेसको १४ औं महाधिवेशनमा साढे ८ लाख क्रियाशील सदस्य रहेको बताइएको थियो । आगामी असोज ९–१४ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर सदस्यता अद्यावधिकगर्न लागिएको बताइन्छ ।

कांग्रेस नेतृत्वलेभने सदस्य संख्या घट्नुका पछाडि वस्तुगत कारण रहेको दाबी गरेको छ । सरकारी कर्मचारी र शिक्षकले राजनीतिक दलको सदस्यता लिन नपाउने कानूनी व्यवस्थाका कारण करिब २ लाख सदस्य स्वतः बाहिरिएको दाबी गरिएको छ । सो पार्टीमा हाल तीनवटा समूह रहेका छन्भने पार्टीका सभापति गगन थापालाई पद त्याग्न दबाव बढ्दो छ ।