काठमाडौं,२६ जेठ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले आफ्नो पार्टीका अधिवेशन आयोजक समितिका सदस्य चन्द्र खड्का (असल) लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । पार्टीका महासचिव चन्दले एक विज्ञप्ति जारीगर्दै खड्कालाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाउनुभएको छ । खड्काले पार्टीको नीति र विधि विपरीत गत २४ गते वाम–लोकतान्त्रिक युवा अभियान नामको छुट्टै मोर्चा निर्माण गरेको र स्वयंले पनि फोनमार्फत उक्त कुराको जानकारी गराएपछि उहाँलाई कारवाहीगरिएको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव चन्दले विज्ञप्तिमा भन्नुभएको छ–केन्द्रीय समितिको बैठक देखिनै उहाँसँगको छलफलमा यस्तो कामगर्न सकिने तर पार्टीको जिम्मेवारीमा बसेर होइन, पार्टीबाट अलग भएर गर्नसकिने विषय मैले प्रस्ट राखेको थिएँ। राजनीतिक आन्दोलनमा कसरी र कुन दिशाबाट कामगर्ने भन्ने कुरा व्यक्तिको स्वतन्त्रता भए पनि त्यो पार्टीको मान्यताभित्र नपर्ने स्पष्ट छ । पार्टीले खड्कामाथि वैचारिक विचलन आएको आरोपसमेत लगाएको छ । विज्ञप्तिमा मालेमावादी विचार, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्तिको कार्यदिशा त्यागेर वा लुकाएर कुनै पनि मोर्चा वा आन्दोलन निर्माणगर्न नसकिने उल्लेख छ । खड्काले निर्माण गरेको नयाँ मोर्चामा विरोधाभास र यथास्थितिवादी प्रवृत्ति देखिएको भन्दै पार्टीले त्यसलाई स्वीकारगर्न नसकिने जनाइएको छ ।